पनौती । पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा एसइइ सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०८० सालमा एसइइ परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले सूर्योदय स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र त्यो गुणस्तरका लागि अभिभावकहरूको पनि उल्लेखनीय भूमिका रहेको बिचार व्यक्त गर्नुभयो । उहाँले एसइइ परीक्षामा राम्रो नतिजा ल्याउँदा पनि सूर्योदयले सरलता देखाएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले गुणात्मक शिक्षाका लागि सूर्योदय स्कुलको प्रतिबद्धता र सोही अनुसारको कामले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने बताउनुभयो । त्यस्तै नगरको शैक्षिकस्तर विकास गर्न सूर्योदयको भूमिका उल्लेखनीय रहेको विचार पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकारले राख्नुभएको थियो ।
कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरू रिजा मधिकर्मी, रिया केसी, अभिभवककातर्फबाट रमेश तिमल्सिनाले आआफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।
