बनेपा । काभ्रेको बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम तीन चरणमा सम्पन्न गरेको छ ।
पहिलो चरणमा मंगलबार काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीको अभिभावक सम्मेलन गरिएको थियो । यस्तै शुक्रबार र शनिबार बाँकी कार्यक्रम सम्पन्न गरिएको विद्यालयकी प्रिन्सिपल इन्दु थापाले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले विद्यालयलाई सफलताको शुभकामना दिँदै विद्यालयले बालबालिकाहरुको क्षमता पहिचान गर्दै उनीहरुलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । ‘हरेक व्यक्तिमा केही न केही क्षमता हुन्छ तर ती लुकेका हुन्छन् ।’ ढकालले भन्नुभयो, ‘ती प्रतिभाहरुलाई समयमै पहिचान गर्न सकिएन भने उनीहरुबाट अभिभावक र देशलाई नै ठूलो घाटा हुन्छ, त्यसैले विद्यालयले विद्यार्थीहरुका क्षमता र प्रतिभा प्रस्फुटित गराउन सक्रिय हुनुपर्छ । बेलर इन्टरनेशनलले यसमा आफूलाई प्रमाणित गरोस् ।’ उहाँले विद्यार्थीको भविष्यप्रति अभिभावकलाई चिन्ता हुनु स्वभाविक भएकाले यसमा विद्यालयले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विशेष अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख बशुन्धरा खड्काले विद्यार्थीका लागि घर नै पहिलो विद्यालय भएकाले पहिले उनीहरुलाई घरबाटै संस्कार सिकाउनु पर्ने र पछि विद्यालयले उनीहरुलाई सहिमार्ग प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले बेलर एकेडेमीले त्यसलाई आत्मसाथ गरेको र आगामी दिनमा विद्यालयको थप प्रगतिको कामना गर्नुभयो । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा उहाँको जोड थियो ।
यस्तै पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष ईश्वरी ओझाले बेलर एकेडेमी जिल्लामा मात्र नभएर देशकै एउटा उपयुक्त शैक्षिक गन्तव्य रहेको उल्लेख गर्दै यसले समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना बालबालिकालाई संलग्न गराउन अभिभावकलाई आग्रह गर्दै विद्यालयको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
करिब डेढदशक पहिलेदेखि संचालनमा रहेको यस विद्यालयमा हाल ३ हजार ७०० विद्यार्थी अध्ययनरत छन् । पछिल्ला दिनहरुमा विद्यालयले आफूलाई प्रविधिमा आधारित बनाउँदै लगेको विद्यालयका अध्यक्ष भोला थापाले जानकारी दिनुभयो । कार्यक्रम अध्यक्ष थापाकै अध्यक्षतामा सम्पन्न भएको थियो ।
