चण्डेनीमण्डन । कुनैबेला काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई रुखकटहरको राजधानी झैं मानिन्थ्यो । तर विगत चार वर्ष यता यहाँका अधिकांश रुखकटहरका बोटहरु सुकेका छन् । कटहरका रुखहरु मात्र सुकेनन्, यहाँका किसानहरुको आम्दानीको स्रोत पनि सुकेको छ । यस अवधिमा करिब एक हजार दुई सय वटा बोटहरु सुकेपछि किसानहरु आत्तिएका छन् ।
खंग्रङ्ग सुकेर ठिङ्ग उभिएका रुखकटहरको बोटले विगत चार वर्षदेखि कुनै उत्पादन दिएका छैनन् । कुनै बेला बोटले थेगिनसक्नु कटहर फल्ने काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित ज्वानेटार, जोगिटार, कान्तिटार र माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौं रुखहरु अहिले सुकेका छन् । यसभेगमा पहिले कटहरलाई आम्दानीको दरिलो स्रोत मान्ने किसानहरु अहिले निराश छन् । यहाँका रुखकटहर त सुके नै किसानको आम्दानीको बोट पनि सुकेपछि उनीहरु चिन्तित भएका हुन् । किन सुके कटहरका बोटहरु भन्नेमा उनीहरु अनविज्ञ छन् ।
स्थानीय कृषक पशुपति श्रेष्ठका बारीमा एक दर्जनभन्दा बढी रुखकटहरका बोट थिए । जसमध्ये अहिले ८ वटा मरिसकेका छन् । वर्षेनी ४० हजारको कटहर बेच्ने उहाँले अहिले कटहर बेच्नै पाउनुभएको छैन । बाँकी भएका बोट पनि कहिले सुक्ने हुन् भनेर उहाँ चिन्तित हुनुहुन्छ ।
मण्डनदेउपुरका साथै छिमेकी भुम्लु गाउँपालिका र सिन्धुपाल्चोक जिल्लामा रहेका करिब एक हजार दुई सयवटा कटहरका बोट अहिले सुकिसकेका छन् । बचेका रुखहरु पनि सुक्ने क्रममा छन् भने उत्पादन दिइरहेका केही रुखमा पनि कटहर सन्तोषजनकरुपमा फल्न छोडेका छन् । एउटै बोटमा चार सयदेखि पाँच सयसम्मको संख्यामा फल्ने रुखकटहर अहिले ठप्प छन् । यसरी छानीछानी कटहरका रुखहरु मात्र सुक्न थालेपछि यसलाई अनुसन्धान गर्न जरुरी रहेको स्थानीयहरु बताउँछन् ।
यस भेगमा करिब २ हजारको हाराहारीमा कटहरका रुखहरु छन् । एक सिजनमा एउटै बोटबाट करिब १० देखि २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले कटहरका बोट सुकेसँगै किसानको आम्दानी पनि ठप्प भएको हो । यतिमात्र होइन यहाँ हरेक वर्ष साउन लागेपछि कटहर खानकै लागि टाढाटाढाबाट जाने आन्तरिक पाहुना पनि घटेका छन् । यहाँ यसअघि अन्य फलफूलका बोटहरु सुके पनि कटहरका रुख सुकेको पहिलो पटक हो । यो कृषि विज्ञहरुका लागि पनि चुनौतीको विषय रहेको चण्डेनीमण्डनका पूर्वगाविस अध्यक्ष हरिप्रसाद नेपाल बताउनुहुन्छ ।
रुखकटहरमा यसरी रोग लागेपछि किसानहरुले कृषिविज्ञहरुलाई खबर गरेका थिए । जिल्ला कृषि विकास कार्यालय धुलिखेलबाट केही समयअघि प्रभावित क्षेत्रमा पुगेकी बाली संरक्षण अधिकृत रमा कार्कीका अनुसार यहाँका रुखकटहरका जरामै ढुसी किराको प्रकोप देखिएको छ । जसले गर्दा रुखका जराहरु सुक्ने समस्या आएको हो । रुखको फेद वरिपरि सुकेका पातहरु राखेर जलाइदिने गर्दा यसको केही नियन्त्रण हुनसक्ने उहाँले बताउनुभयो । केही किसानहरुले आफूले जानेको विधिले उपचार गरे पनि त्यो प्रभावकारी देखिएको छैन ।
केही विज्ञहरुले ढुसीको प्रकोप भने पनि यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन । यसको लागि गहिरो अनुसन्धान हुन जरुरी भएको किसानको माग छ । कतिपयले रुखहरु बुढा भएर मरेको भन्दै हचुवाका कुरा पनि गरिरहेका छन् तर यहाँ भर्खर मात्र उत्पादन दिन थालेका नहर बोटहरु पनि पुरै सुकेकाले यसमा पनि सत्यता छैन । जसले गर्दा किसानहरु थप चिन्तित भएका हुन् ।
यसरी कुनैबेला रुखकटहरले भरिने यहाँका गाउँहरु अब उत्पादनबिमुख हुने निश्चित छ । यही अवस्था रहिरहे मण्डनभेगमा रुखकटहर एकादेशका कथा जस्तै हुने अवस्था आएको स्थानीयको गुनासो छ । अब सुकेका रुखहरु भएका ठाउँमा नयाँ बिरुवा रोप्न सके हुन्थ्यो भन्ने किसानको माग छ । उनीहरु भन्छन्, ‘सम्बन्धित पक्षले यतातिर ध्यान दिन सके बाँकी रहेका कटहरका बोटहरु जोगाउन सकिन्थ्यो की ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *