बनेपा । ‘सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तीकरण’ भन्ने नाराका साथ काभ्रेको बनेपा नगरपालिकामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तीकरणमा स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरका विभिन्न सहकारी, क्लब तथा महिला समूहहरुको सहभागिता रहेको थियो । जसमा ९ जनाले भाग लिएका थिए । प्रतियोगितामा संगम नारी चेतना बहुउद्देश्यीय सहकारी संस्था बनेपा–८ कि सविता घोरसाइनी दाहालले प्रथम हुँदै नगद १० हजार जित्नुभयो । यस्तै रोटरी क्लब अफ काभ्रे भ्याली, बनेपा–७ कि मनिषा श्रेष्ठले दोस्रो हुँदै ७ हजार, उग्रचण्डी महिला समूह, नालाकी सुन्दरी अछामले तेस्रो हुँदै ५ हजार र वडा नम्बर–१४ को महिला समूहकी रेणु तामाङले चौथो हुँदै सान्त्वना पुरस्कार नगद ३ हजार ५०० जित्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै बनेपाका मेयर शान्तिरत्न शाक्यले यस्ता कार्यक्रमले महिलालाई अघि बढ्न प्रेरणा मिल्ने बताउँदै ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्नुभयो । बनेपाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले नगरपालिकाले हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गर्दै आइरहेकाले यसैको निरन्तरतास्वरुप आजको कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
उपप्रमुख बिमला सापकोटाले नगरपालिकाले पछिल्ला केही वर्ष यता महिलाका लागि केन्द्रीत थुप्रै कार्यक्रमहरु गरिरहेको बताउँदै यस्ता कार्यक्रमले महिलाहरुमा सीप र क्षमताको विस्तार गर्न सहयोग पुगेको धारणा राख्नुभयो । उहाँले हरेक पालिकाले महिलाका लागि विशेष कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिँदै महिला आफैंले पनि सक्रियता देखाएर अघि बढे आफ्नोतर्फबाट सक्ने सबैखाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले प्रतियोगितामा महिलाहरुले प्रस्तुत गर्नुभएका विषयहरु देख्दा अब महिलाहरु पनि सक्षम बन्न अग्रसर हुनुभएको आफूले पाएको भन्दै नगरपालिकाले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभयो । उहाँले यसका लागि सबै संचारकर्मीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने हुनुहुन्थ्यो । उपप्रमुख बिमला सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिब १०० जना महिला र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
