धुलिखेल । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग सुधार परियोजनाको ठेक्का अन्त्य गरेसँगै अब धुलिखेल–खावा सडक निर्माण अन्योलमा परेको छ ।
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकको निर्माण कार्यका लागि निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवा प्रालि, काठमाडौं र सडक डिभिजन भक्तपुरबीच ०७९ साल जेठ २० मा ठेक्का सम्झौता भई ०८० चैत १९ सम्म सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।
हालसम्म खरिद सम्झौताको कार्यतालिका अनुसार भौतिक प्रगति अत्यन्त न्यून रहेको र निर्माण कार्य सुचारु गरी समयमा सम्पन्न गर्न पटकपटक पत्राचार गर्दासमेत चासो नदेखाएका कारण ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ । सडक डिभिजन भक्तपुरले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) तथा ठेक्का सम्झौता बमोजिम काम नभएकाले ठेक्का सम्झौताको अन्त्य गरिएको जनाएको छ ।
सूचनामा थप उल्लेख भए अनुसार, ठेक्का सम्झौता बमोजिम भुक्तानी हुन बाँकी स्वीकार्यरुपमा भएको अवशिष्ट कार्य भएमा सात दिनभित्र सडक डिभिजन कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्नसमेत अनुरोध गरिएको छ । धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो ।
वर्षायाममा मालबाहक तथा यात्रुबाहक सवारीसाधन हिलोमा फस्दा हप्तौँसम्म राजमार्ग अवरुद्ध हुँदै आएका छन् । पुनःनिर्माणका लागि भत्काइएका सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते पनि हुने गरेका छन् । उक्त खण्डमा समयसीमाको करिब एघार महिना नाघिसक्दा पनि निर्माण कम्पनीद्वारा सम्झौता अनुसार काम नहुँदा सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको हो । यसले निर्माण कहिले पुनःसञ्चालन हुन्छ भन्ने अन्योलता बढेको स्थानीय बताउँछन् ।
उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का सम्झौता भएको थियो । पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालयले गत बिहीबार ठेक्का रद्द गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लो पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । अब प्रक्रिया पुर्याएर केही हप्तामा पुनः ठेक्का खोल्ने तयारी गरिएको कार्यालयले जनाए पनि यो प्रक्रियामै रहेको छ । जसले गर्दा निर्माण कहिले हुने अन्योल बढेको हो । हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही खण्ड हो ।
