• ज्ञानमणि नेपाल कालोटोपी

कुन्तावेंसी । काभ्रेपलाञ्चोकको मण्डनभेगका हरेकजसो विकास निर्माणको शुरुवात गर्नुभएका र मण्डनका ताराको रुपमा चिनिनुहुने स्वर्गिय हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा शनिबार कुन्तावेसीमा अनावरण गरिएको छ ।

एक विशेष समारोहका बीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पौडेलको प्रतिमाको अनावरण गर्नुभएको थियो । पूर्वक्षेत्र नं १ अन्तर्गत काभ्रे–सिन्धु क्षेत्रका नक्षत्र, प्रजातान्त्रिक सेनानी, प्रखर राजनीतिज्ञ, समाजसेवी पौडेलको प्रतिमा अनावरणमा मण्डनदेउपुरका सयौं नागरिकको उपस्थिती थियो । विसं १९९३ सालमा जन्मिनुभएका उहाँ तत्कालिन महादेवस्थान मण्डनका प्रधानपञ्चसमेत हुनुहुन्थ्यो ।

प्रतिमा अनावरण कार्यक्रममा उपस्थित अधिकांशले हरिप्रसाद पौडेलको योगदानको चर्चा गरेका थिए । उहाँ देशमा प्रजातन्त्र स्थापनाका लागि लड्नुभयो। राजनीतिका माध्यमबाट जीवनभर यस क्षेत्रको सेवामा होमिनुभयो । उहाँ प्रखर राजनीतिज्ञ मात्र होइन, सुपरिचित समाजसेवी पनि हुनुहुन्थ्यो । लोकले रुचाएका अध्यात्मवादीसमेत हुनुहुन्थ्यो ।

हरिप्रसाद पौडेलको राजनीतिक यात्रा नेपाली कांग्रेसका माध्यमबाट शुरू भएको थियो । समाजसेवामा उहाँले कुनै क्षेत्र छोड्नुभएन । कृषि सिंचाई तथा नदी नियन्त्रण, भूमिसुधार, सहकारी विकास, खेलकुद, स्वास्थ्य, वन, वातावरण तथा बस्ती विकास, खानेपानी, विद्युतीकरण, शिक्षा, पुस्तकालय, प्रहरी चौकी, सडक, पुल तथा यातायात, धर्मसेवा समितिमा उहाँले योगदान पुर्याउनुभयो । त्यस्तै, उमाशह शिक्षालय, भवानी प्राथमिक स्कूल, डेडीथुम्का स्कुल, नर्मदाको उमा विद्या मन्दिर, पौवामा राधाकृष्ण घनश्याम स्कुलको स्थापना र विकासमा संलग्न रहनुभयो । धेरैतिरका सार्वजनिक जग्गाको संरक्षणमा लागिपर्नुभयो ।

यस क्षेत्रको विकास निर्माणमा उहाँ आफ्नो घरपरिवार बिर्सेर लाग्नुभयो । यस ठाउँको उन्नतिमा कसरी काँध थाप्न सकिन्छ भनेर हरदम चिन्तित रहने पौडेलले २०७७ सालमा संसार छाड्नुभयो । अन्तिम अवस्थासम्म उहाँ यही क्षेत्रको मायामा लुटपुष्टिनुभएको थियो । काभ्रे सिन्धु क्षेत्रले पनि उहाँलाई भरपूर माया गर्दै आएको थियो ।
हरिप्रसाद पौडेल आफ्ना ठूलोबुबा नन्दप्रसाद र पीताम्बर उपाध्याय नेपालको प्रेरणाले राजनीतिमा लाग्नुभएको थियो । नन्दप्रसाद जिम्वाल हुनुहुन्थ्यो । त्यतिबेला जिम्वालले सरकारका तर्फबाट कुत र तिरो आदि उठाउने गर्थे । नन्दप्रसाद २०१८ सालमा महादेवस्थान गाउँ पञ्चायतमा उपप्रधानपञ्च हुनुभयो, उहाँ २०२३ सालमा प्रधानपञ्चमा उठ्नुभयो ।

पौडेललाई पीताम्बर उपाध्याय नेपालले २०१७ सालमा काठमाडौँ पुर्याई तरुण दलको सदस्यता दिलाइदिनुभयो । त्यसपछि तनमन दिएर राजनीतिका माध्यमले समाजसेवामा लाग्नुभयो । २०४३ सालमा यस क्षेत्रको प्रधानपञ्च हुनुभयो । २०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट काभ्रे जिल्ला विकास समितिको १३ नम्बर इलाकाको सदस्य हुनुभयो भने ०५४ सालमा काभ्रे जिल्ला विकास समितिको सभापतिमा उम्मेद्वार हुनुभयो ।

पौडेललगायतकै पहलमा आँसीखोलाबाट धाइटारसम्म सिंचाइका लागि कुलो ल्याइएको हो । त्यतिबेला भातभान्साका लागि पानीको अभाव पनि त्यही कुलोले टार्ने गरेको थियो । त्यसअघि गाउँमा एक गाग्री पानी लिन एक किलोमिटर टाढा आँसीखोला पुग्नुपथ्र्यो । पछि २०१८ सालमाु उहाँहरूले गाउँमै एउटा कुवा बनाउनुभयो ।
पौडेलले धाइटारमा २०१५ सालमा भवानी प्राथमिक विद्यालय खोल्नुभयो । २०३६ सालसम्म त्यस स्कुलको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो । डेडीथुम्का स्कुललाई अनेकोटबाट महादेवस्थानमा भवन बनाएर सार्नमा पनि उहाँको योगदान रह्यो । पछि उहाँ त्यसको व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुभएको थियो । डेडीथुम्कामा अहिले उच्च माविसम्म पढाइ हुने गरेको छ । यसभेगका अन्य स्कुलहरूको विकास विस्तारमा समेत पौडेलको भूमिका ठूलो रहेको थियो ।

कुन्ताबेंसीमा २०४८ सालमा समाज सेवा समूह खोल्नमा पौडेलले नै अगुवाइ गर्नुभएको थियो । स्थानीय बासिन्दाको आर्थिक गर्जो टार्नु यसको प्रमुख उद्देश्य थियो । यसको अध्यक्षको एउटा कार्यकाल पनि पौडेलले नै सम्हाल्नुभएको थियो । सामाजिक, धार्मिक काममा, मन्दिर र पाटीपौवाको जीर्णोद्वारमा सहयोग हुन सकोस् भनेर उहाँहरूले धर्मसेवा समिति स्थापना गर्नुभएको थियो । समितिलाई आर्थिक स्रोत जुटाउन २०५४ सालमा कश्यपेश्वर महादेवको मन्दिरमा महारुद्री लगाउनुभयो ।

कश्यपेश्वर महादेवस्थानको नयाँ भवन बनाउन पौडेल निर्माण समितिको अध्यक्ष बन्नुभयो । गुठी संस्थानलाई गुहारेर, स्थानीयरूपमा चन्दा उठाएर महादेवस्थानमा तामाको जलप लगाएको छानो हालियो । सत्तल नयाँ बनाइयो । पौडेलको अर्को अविस्मरणीय योगदान सार्वजनिक जग्गाको संरक्षणमा रह्यो । मण्डनभेगमा प्रशस्तै सार्वजनिक जग्गा छ । पहिलेदेखिकै हिसाब गर्ने हो भने त धेरै नै पुग्ला । कब्जा भएका, कब्जा गर्न खोजिएका कति जग्गालाई पहिलेकै अवस्थामा ल्याउन पौडेलले निकै जनासँग दुश्मनी नै मोल्नुपरेको थियो । हरिप्रसाद पौडेलले आफ्नो जीवनकालमा गर्नुभएका असंख्य राजनीतिक र सामाजिक योगदानमध्ये यी केही उदाहरण हुन् ।

उहाँका सम्पूर्ण कामहरूको विस्तृत चर्चा परिचर्चा उहाँकै जीवनी पुस्तक ‘मेरो मण्डन’ मा गरिएको परिवारले जनाएको छ । पत्रकार पारसप्रकाश नेपालले सम्पादन गर्नुभएको यो पुस्तक आउँदो भदौमा पौडेलको ९० औं जन्मजयन्तीमा सार्वजनिक गर्ने योजना रहेको बताइएको छ । उहाँ बितेर जानुभयो तर उहाँले गरेका थुप्रै कामहरु मण्डनभेगमा सधैं रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *