बनेपा । काभ्रे जिल्लाकै ठूलो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघका तर्फबाट उम्मेदवारी दिएका रोहिन पराजुलीको सिंगो प्यानल नै विजयी भएको छ ।
मंगलबार सम्पन्न निर्वाचनको बुधबार बिहान आएको नतिजा अनुसार अध्यक्षमा नेपाल विद्यार्थी संघका पराजुली २७२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका मिलन गौतमले ११९ मत पाए । यसैगरि सचिवमा नेपाल विद्यार्थी संघकै तीर्थकुमारी भुर्तेल २६४ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका ग्युछेन लामाले १२४ मत पाइन् ।
यसैगरि कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका मनिष श्रेष्ठले २५७ मत पाएर विजयी हुँदा अनेरास्ववियुका सृजना सापकोटाले १२९ मत पाइन् । सदस्यहरुमा नेपाल विद्यार्थी संघका सुधा श्रेष्ठ, सजिना लामा र मनिष कुँवर विजयी भए । अनेरास्ववियूका सन्ध्या गिरि र सुनिता गुँइत पनि सदस्यमै विजयी भए ।
समानुपातिकमा नेपाल विद्यार्थी संघले २५४ मत पाउँदा अनेरास्ववियुले ११७ र अखिल क्रान्तिकारीले २० मत पाएका छन् । यहाँ नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । यस क्याम्पसमा ५४१ मतदाता रहेकोमा ३९६ मत खसेको थियो । काभ्रेका अन्य १५ वटा क्याम्पसमा भने विद्यार्थी संगठनहरुले सहमतीमा भागबण्डा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *