पनौती । आगामी चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म पनौतीमा सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा महोत्सव आयोजना गरिएको हो ।
पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबद्र्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।
महोत्सवबारे जानकारी दिन सोमबार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुंगानाले महोत्सवमा कृषि, घरेलु सामाग्री लगायतका ६० भन्दा बढी व्यापारिक स्टल रहने जानकारी दिए । पनौतीका सबै वडाका लागि एक एक वटा स्टल निःशुल्क उपलब्ध गराइने ढुंगानाले बताए ।
बालबालिकाहरुको मनोरञ्जनका लागि बालउद्यानको समेत व्यवस्था गरिनुका साथै प्रत्येक दिन राष्ट्रियस्तरका कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना हुने बताइएको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई प्रवेश निःशुल्क हुनेछ भने अन्यका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँको टिकट दर तोकिएको छ ।
पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले पनौतीको प्रचार र पर्यटन प्रवद्र्धनमा उल्लेखनीय काम हुन नसकेको अवस्थामा महोत्सवले पर्यटन प्रवद्र्धनका लागि सघाउ पुग्ने विश्वास बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले यस्ता महोत्सवले पनौतीमा आर्थिक चहलपहल बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न भूमिका खेल्ने वताए । वडा नं ७ का अध्यक्ष सविन ताम्राकारले पनौतीको कला सम्पदाको प्रचारमा महोत्सवले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
