बनेपा । काभ्रेपलाञ्चोकमा रहेको जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) र जिल्ला बचत संघले संयुक्त रूपमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सञ्चालक गुरु प्रसाद पौडेल र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारद्वारा सहकारी ऐन २०७४ का केही प्रावधानहरू थप तथा संशोधन र नेपाल राष्ट्र बैंकले सहकारी ऐन २०७४ को दफा ३ बमोजिम स्थापित सहकारी संस्थाहरूका लागि २०८१ जेष्ठ २१ गते जारी निर्देशन तथा मापदण्डका व्यवस्थाहरूको बारे बृहत छलफल गरिएको थियो ।
जिल्ला सहकारी संघका अनुसार जिल्लाको आर्थिक समावेशिता, स्वरोजगार, बचत प्रवद्र्धन तथा वित्तीय पहुँच विस्तारमा अग्रणी क्षेत्रको रूपमा स्थापित भई अभिभावकत्व निर्वाह गरी आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरूको समन्वय, नेतृत्व, क्षमता विकास तथा सहकारी प्रवद्र्धन, सहकारी क्षेत्रमा आइपरेका समस्याहरूका बारेमा सम्बन्धित निकायमा सशक्त बहस पैरवीबाट हक अधिकार स्थापित गर्दै सदस्य संस्थाहरूको विकास र प्रवद्र्धन सहित वित्तीय अनुशासन, पारदर्शिता तथा सदस्य केन्द्रित सेवा प्रवाहमा जिल्लाका सहकारी संघहरूको महत्वपूर्ण भूमिका रहनेछ ।
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सञ्चालक पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा जिल्ला बचत तथा सहकारी संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले ऐनमा बाँझिएका कुराहरुका बारेमा कार्यपत्र उल्लेख गर्नुभएको थियो । सो कार्यक्रमको सभापतित्व जिल्ला सहकारी संघ लि. का अध्यक्ष अमन पोटे र सञ्चालन कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थले राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *