पनौती । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पोषण प्रवद्र्धन तथा विषादी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे किसानलगायत सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
बुधबार पनौतीको वडानम्बर–५ मा आयोजित एक कार्यक्रममा विषादीले मानव जीवनमा पार्नसक्ने प्रभावका बारेमा सहभागीहरुले आआफ्ना विचार राखेका थिए । समग्र कृषक, व्यवसायी र उपभोक्तामाझ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकका तर्फबाट पदमराज कैनीले जानकारी दिनुभयो ।
कार्यक्रममा पनौती नगरपालिकाको कृषि शाखाबाट प्रशिक्षक शर्मिला कार्की र सम्झना लिंखा राईले विषादी व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँहरुले विश्वमै र नेपालमा भइरहेको विषादी प्रयोग र काभ्रे जिल्लामा पछिल्लो ५ वर्षमा भएका विषादी प्रयोगको अवस्थाका बारेमा प्रस्तुत गर्नुभयो । यस्तै जनस्वास्थ्य कार्यालय धुलिखेलका जनस्वास्थ्य अधिकृत पदमराज कैनीले पोषण के हो र यसले मानव स्वास्थ्यमा कस्तो महत्व राख्छ भन्नेबारे जानकारी दिनुभयो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लामा विषादीको प्रयोग र त्यसको न्यूनीकरणमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिएको थियो । सरोकारवालाहरुले कृषक, ब्यवसायी र उपभोक्ताहरुलाई सचेत बनाउँदै स्वास्थ्यप्रति सजग रहन सबैमा अनुरोध गर्नुभयो । उहाँहरुले विषादी व्यवसायीले विषादी व्यापार गर्ने मात्र नभइ किसानलाई प्रयोगबारे पनि सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले विषादीको प्रयोगमा ध्यान दिनुपर्ने विषय, कानूनी ब्यवस्था र भइरहेको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासामाथि कार्यपत्र प्रस्तुत गर्नुभएका विज्ञहरुले जवाफ दिनुभयो । साथै उहाँहरुले विषादी प्रयोगबारे प्रष्ट पार्दै विषादी प्रयोगमा सबैले पूर्णसतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो ।
पनौती वडा नम्बर ५ का वडाध्यक्ष बिनोद खत्रीले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन भएकाले विषादी प्रयोगमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले स्थानीय तहबाट किसानलाई गर्नुपर्ने सहयोगका लागि आफू सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । मध्यमार्ग कृषि सहकारी संस्था लि. पनौती ८ का अध्यक्ष प्रदीप केसी बञ्जाराको समन्वयमा कार्यक्रम भएको थियो । यसअघि पनि पनौतीमै कार्यक्रम भइसकेको र आगामी दिनमा पनि यस्तै कार्यक्रम संचालन गरिने बताइएको छ ।
विषादीको खपत तथा प्रयोग
काभ्रेपलाञ्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा प्रयोगमा कमी आएको उल्लेख छ ।
कार्यालयका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा काभ्रेपलाञ्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ । प्रस्तुत प्रतिवेदनमा आव २०८०÷८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलो र दानादार विषादी १० हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो–दानादार तीन हजार पाँच सय किलोग्राम र तरल विषादी चार हजार तीन सय लिटर खपत भएको उल्लेख गरिएको छ ।
यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी दुई सय ५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको छ । आव २०७९÷८० मा भने काभ्रेपलाञ्चोकमा धुलो र दानादार विषादी ५६ हजार एक सय ६० किलोग्राम र तरल विषादी २८ हजार नौ सय ६४ लिटर प्रयोग गरिएको थियो ।
यसैगरी सिन्धुपाल्चोकमा आव २०८०÷८१ मा किटनाशक धुलो र दानादार विषादी चार हजार चार सय पाँच किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो र दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार तीन सय २५ लिटर, झारनाशक धुलो र दानादार आठ सय किलोग्राम, तरल विषादी एक हजार नौ सय २० लिटर विषादी खपत भएको जनाइएको छ । यस्तै जैविक विषादी धुलो र दानादारतर्फ चार सय किलोग्राम, तरल विषादी नौ सय १५ लिटर र अन्य धुलो÷दानादार विषादी दुई सय ५० किलोग्राम र तीन सय १२ लिटर तरल विषादी खपत भएको थियो ।
अघिल्लो आव २०७९÷८० मा भने सिन्धुपाल्चोकमा धुलो र दानादार विषादी २३ हजार एक सय ७५ किलोग्राम र तरल विषादी १५ हजार सात सय ७० लिटर खपत भएको थियो । प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलो र दानादार विषादी प्रयोग बढेको जनाइएको छ ।
तथ्यांकले विषादी प्रयोगमा कमी देखाए पनि व्यवहारिकरुपमा प्रयोग बढेकै देखिन्छ । अत्याधिक विषादी प्रयोगले मानिसमा प्रत्यक्ष प्रभाव पार्ने दीर्घरोगहरु क्यान्सर, दम, मृर्गौला फेललगायतका बिरामीहरु पनि बढ्न थालेका देखिन्छन् । विषादी प्रयोग सकेसम्म कम गराउनु पर्ने र गर्नै पर्ने अवस्थामा जैविक विषादीको प्रयोग गराउनु पर्नेमा जोड दिइएको छ ।
के भन्छन् किसानहरु ?
पनौती नगरपालिका–५ की किसान अप्सरा केसीले मौसमी र बेमौसमी तरकारी खेती गरिरहनुभएको छ । टनेलामा तरकारी खेती गर्न शुरु गर्नुभएकी उहाँ हाइब्रिड बीउ लगाउँदा जैविक विषादी र प्राङ्गारिक मल प्रयोग गर्दा उत्पादन बढ्न नसक्ने अनुभव सुनाउनुहुन्छ । रैथाने बाली जोगाउन सके मात्र यस्ता प्रविधिले काम गर्ने अन्यथा कागजले जे भने पनि व्यवहारले त्यस्तो नहुने उहाँको तर्क छ । यो सँगै उहाँले व्यापारीहरुले किसानका उत्पादन सस्तोमा खरिद गर्ने र उपभोक्ताले चर्को मूल्यमा किन्नु पर्ने बाध्यतामा सरकार दोषी रहेको आरोप लगाउनुभयो । भारतबाट बिना चेकजाँच विषादी प्रयोग गरिएका तरकारी र फलफूल नेपाल भित्रिँदा स्वदेशी किसान मारमा परेका उहाँको भनाइ छ ।
पोषण के हो ?
मानव जीवनमा पोषण नभइ नहुने तत्व हो । जसको कमी भयो भने मानिसलाई धेरै प्रकारका रोग लाग्छन् । हामीले खाने खानेकुराबाट शरीरलाई आवश्यक पर्ने तत्वहरु पाइन्छ । विभिन्न खाना अनुसार नै फरकफरक तत्व पाइने हुनाले खाना खाँदा ती तत्व पाइने गरि मात्रा मिलाएर खानुपर्छ । जनस्वास्थ्य अधिकृत पदम कैनीका अनुसार हामीलाई आवश्यक पर्ने तत्वहरुको कमी भयो भने वा बढी भयो भने पनि मानिसमा कुपोषण देखिन्छ । यस्ता खानेकुराहरु विषादी प्रयोगबाट उत्पादन गरिएका छन् भने विषादी हाम्रो शरीरमा पस्छ र यसले हानी गर्न थाल्छ । तत्काल समस्या नदेखिए पनि दीर्घकालमा यस्ता समस्या देखिने भएकाले हामीले धेरै सतर्कता अपनाउनु जरुरी छ । अर्को अर्थमा पोषक तत्व भनेको रासायनिक तत्व हो, जुन हामीले दैनिक खानाबाट प्राप्त गर्न सक्छौं र यसले उमेरअनुसार मानिसको बृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्दछ । प्राकृतिक खाद्य पदार्थहरुमा प्राय एकभन्दा बढी प्रकारका पोषक तत्वहरु पाइन्छ । शक्ति दिने, बृद्धि विकास गर्ने तथा रोगबाट सुरक्षा दिने खानेकुराहरुलाई उपयुक्त मात्रामा मिलाइएको आहारलाई सन्तुलित आहार भनिन्छ ।
पोषण प्रबद्र्धन कसरी ?
बालबालिकाहरुमा राम्रो पोषणको अधिक आवश्यकता पर्छ । राम्रो पोषण पाएका बच्चाहरु कम बिरामी हुन्छन् र उनीहरुमा पूर्णक्षमताको उचित विकास भएको हुन्छ । पोषित बालबालिकाहरु बलिया र गरिबी संजाल तोड्नमा सफल मानिन्छन् । संसारमा एक तिहाई बालबालिकाहरु कुपोषणको कारणबाट मर्छन् र संसारमा जति पनि रोगहरु छन् ती मध्ये धेरैको कारक कुपोषण हो । कुपोषणको कारणले विश्वमा १७.८ करोड बालबालिकाहरु पुड्को, ख्याउटे र कम तौल भएका छन् र सबैभन्दा बढी कुपोषित बालबालिकाहरु (४१ प्रतिशत) एसियामा छन् ।
नेपालमा के छ अवस्था ?
नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मध्ये झन्डै आधा संख्यामा बालबालिकाहरु कुपोषण (ख्याउटेपन र कम तौल) बाट ग्रसित छन् । नेपालमा ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा ३३ रहेको छ भने शिशु मृत्यु दर प्रतिहजारमा २८ रहेको छ । नेपालमा प्राय ४ प्रकारका कुपोषण देख्न सकिन्छ । प्रोटिनशक्ति कुपोषण, आयोडिनको कमी, भिटामिन ए को कमी र आइरनको कमी ।
विषादीको प्रयोग कहिलेदेखि ?
प्रमुख वातावरणीय कारणहरुमा बाहिरी तथा भित्री वायु प्रदूषण, विकिरण र विभिन्न रासायनिक पदार्थहरु पर्दछन् । विश्वमा पहिलो पटक विकास भएको रासायनिक विषादी हो । नेपालमा सन् १९५२ मा औलो नियन्त्रणका लागि पहिलोपल्ट डिडिटी विषादी भित्र्याइएको हो र केही समय पश्चात कृषि उत्पादनका लागि प्रयोग गर्न थालियो । आर्थिक वर्ष २०७४÷७५ को तथ्यांक हेर्दा नेपालमा ६०० टनभन्दा बढी खास विषादी आयात भएको देखिन्छ, जसमा करिब ८५५ भन्दा बढी तरकारी बालीमा प्रयोग भएको पाईएको छ ।
