ज्ञानमणि नेपाल कालोटोपी/प्रदीप केसी बञ्जारा
पनौती । बैशाख २९ गते परेको अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १५ घण्टासम्म राजमार्ग अवरुद्ध भयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन ढिला भयो । प्रहरी टोली तथा स्थानीयको पहलमा सडक सुचारु गरिएको थियो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
बेपत्ता महिलाको खोजी जारी
यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता पनौती ढलमलेकी एक महिलाको ६ दिनसम्म पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । सोही दिन साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेणुका गिरी बेपत्ता भएकी थिइन् । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि हालसम्म उनको अवस्था अज्ञात छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली र तालिम प्राप्त कुकुर परिचालित गरी खोजीकार्य गरिएको प्रनाउ घलेले बताए ।
किसानको करोडौंको क्षति
सोमबारको वर्षाले पनौती बसपार्क आसपासका धेरै क्षेत्र डुबानमा परेको छ । यस्तै आलु र गोलभेंडा लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ । किसानहरुले थन्क्याउने बेला भएको आलु पनि खन्न पाएनन् । पनौती–८ खरिबोटका किसानका करिब पाँच सय वटा टनेलमा पानीले डुबेपछि गोलभेंडा मर्न लागेका छन् । एउटा टनेलमा करिब ४० हजार खर्च हुन्छ । यसरी हेर्दा यहाँ कति क्षति भयो भन्ने अहिले नै यकिन गर्न नसकिने अवस्था छ ।
स्थानीय किसान जगन्नाथ आचार्यका अनुसार यहाँ पहिले पनि बाढी आउँथ्यो तर यति धेरै क्षति गरेको थिएन । यस भेगमा धेरै माथिदेखि पानीको निकास आउने तर त्यसलाई व्यवस्थित गर्न नसक्दा अहिले बाढीले धेरै क्षति गरेको हो । यहाँ व्यवस्थित कूलो नबनाएसम्म सधैं यस्तै समस्या हुने उनको भनाइ छ । यहाँका अधिकांश किसानहरु बाढीले पुर्याएको क्षतिपूर्ति पाउनु पर्ने माग गर्छन् ।
स्थानीय किसान महेश्वर बञ्जाराका अनुसार यहाँ यति नै क्षति भएको भन्ने अनुमान गर्न सकिने अवस्था छैन । वर्षायाम शुरु हुँदै गर्दा यति धेरै क्षति भइसकेको अवस्थामा आगामी दिनमा थप क्षति हुने उहाँले बताउनुभयो । यस सम्बन्धमा नगरप्रमुख रामशरण भण्डारीले अहिले पालिकाले यहाँको क्षति मूल्यांकन कार्य गरिरहेको र क्षतिको अन्तिम तथ्यांक आएपछि पीडित किसानलाई राहत उपलब्ध गराइने बताउनुभयो ।
विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताउनु भयो । उहाँले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताउनु भयो । सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।
सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताउनु भयो ।
