बनेपा । काभ्रेमा ट्राफिक प्रहरीको संख्या थोरै र जिम्मेवारी बढी भएकाले सोचे अनुसार नागरिकलाई सेवा प्रदान गर्न नसकिएको बताइएको छ ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले ट्राफिक नियमसम्वन्धीका धेरै विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै यसको जानकारी दिनुभएको हो ।
मुख्य राजमार्ग अरनिको र विपी वर्षात पछि र पुर्ननिर्माणका कारण प्राय क्षेत्रमा कच्चि जस्तै भएका छन् । दुर्घटना न्युनिकरण र सामान्य दुर्घटना भइरहनु सडक निर्माणका प्रमुख कारण मानिएका छन् ।
जिल्लामा कुल ८५८.२ किमी सडक मध्ये १३२.२ किमी पक्कि सडक, ५०४.४ कच्चि सडक र १२८.६ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् । यस्तै चालु वर्षको १० महिनामा १ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन भएको छ । १३ हजार ७ सय ४५ सवारी साधन कारवाहीमा परेका छन् ।
दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतनाका लागि प्रहरी निरिक्षक धाँजुले मुख्य योजना सुनाए–‘जिल्लाका सामुदायिक ५ सय ८, संस्थागत ९६ र धार्मिक २ वटा गरी ६ सय ६ जना शिक्षकहरुलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षक शिक्षक तयार गरिन्छ ।’ स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा सबै विद्यालयका बालबालिकाहरुलाई ट्राफिक सचेतनासहितका कक्षाहरु संचालन गर्ने गरी विद्यालय शिक्षक तयार गर्न लागिएको उहाँले बताउनुभयो । साथै विद्यालयहरुले संचालन गरिरहेका बसहरुलाई स्कुल बस निर्देशिका २०७४ अनुसार संचालनका लागि अनुरोध गर्ने, सोहि कानून नमान्ने विद्यालयका बस चालकहरुलाई कारवाही गर्ने प्रहरी निरिक्षक धाँजुले जानकारी दिनुभयो ।
त्यसमा तोकिएका सबै ब्यवस्था विद्यालयहरुले पालना गर्नु पर्ने, सार्वजनिक यातायातमा तोकिएको छुट र आरक्षण शुल्क कार्यान्वयनका लागि अनुगमन गर्ने, प्रेसर हर्न न्यूनिकरण, चालक सह चालकलाई अनुशिक्षण, यान्त्रिक साधनहरुको परिक्षण, प्रदूर्षण नियन्त्रणका लागि सक्रिय रहने बताउनुभयो ।
