नेपाली कांग्रेस पनौती नगर समितिका प्रारम्भिक सभापति प्रेमबहादुर महाजूको जन्म वि.सं. १९९० साल माघ महिनाको १४ गते काभ्रे जिल्लाको पनौती नपा वडा नं. ८ खरीबोटमा जीतबहादुर महाजू श्रेष्ठ र माता जीतमाया महाजू श्रेष्ठको कोखबाट भएको थियो ।
उहाँको ९२ वर्षको उमेरमा धुलिखेल अस्पतालमा उपचारको क्रममा २०८२ जेठ २ गते शुक्रबार मृत्यु भएको थियो ।
उहाँले २००५ सालदेखि आफ्नो राजनीतिक जीवनको सुरुवात गर्नुभएको थियो । महाजू भन्नुहुन्छ – इन्द्रलाल स्यापा मेरा आफ्नै फुपूका छोरा पर्नुहुन्छ र उहाँले नै मलाई सिकाई–बुझाई नेपाली कांग्रेस पार्टीमा सक्रिय बनाउनुभएको हो ।
प्रेमबहादुर महाजूले आफ्ना फुपाजु इन्द्रलाल स्यार्वामार्फत गणेशमान सिंहको निवासमा गई २००४ सालमा गणेशमान सिंहसँगै सदस्यता लिनुभएको थियो । उहाँको कथन छ – गणेशमानले कहिल्यै पनि विराएँ नभन्नु भनी मूल मन्त्र दिनुभएको थियो, त्यसैले मैले आन्दोलनको क्रममा बम, पर्चा, पोस्टर भारतको बनारसबाट बोकी दुःखकष्ट भोगें ।
देशमा राणाशासनको निकै थिचोमिचो भएकोले राणाशासनको विरुद्ध लड्न र प्रजातन्त्र ल्याउन पाए हामीलाई सुख–सुविधा हुन्थ्यो भनेर देशमा अन्याय, अत्याचार र सामन्ती शासन बढेकोले राणाहरूको विरुद्धमा लडी प्रजातन्त्र ल्याउन साथीहरूसँग एक जुट भई राजनीतिमा हात हाल्ने कार्य उहाँले गर्नुभयो ।
महाजू भन्नुहुन्छ – म कुनै पनि बेला पदमा नबसी र पदको लोभ पनि नगरी पार्टीको काममा हरबखत पूर्ण रूपमा हालसम्म पनि लागिरहेको छु तर २०१७ सालदेखि २०२० सालसम्म पञ्चायती कालो व्यवस्थाले गर्दा प्रवासी जीवन बिताउनुपर्यो । बोधवनमा जङ्गल फाँडी बसोवास गरी बस्दा कांग्रेस भनी खिचलो गरी त्यहाँबाट निकाला गराइयो र बम बोकी आक्रमण गर्ने कार्यमा लागी पार्टीमा सक्रिय भएर लागियो ।
श्री महाजू २०३३ सालको बी.पी. को मेलमिलापको नीतिअनुरूप सङ्गठन विस्तारमा लाग्नुभएको थियो ।
उहाँको भनाइ छ– २०३२ सालमा महामानव बीपी कोइराला र गणेशमान सिंहको नेतृत्वमा मेलमिलाप नीति लागु गर्न नेपाल फर्कदा मलगायत मेरा साथीहरू पनि सँगै फर्कियौं र कुनै साथीहरूले सल्लाहबमोजिम पञ्चायतमा भाग लिनभयो भने मचाहिँ पञ्चायतको कनै पनि पदमा बसिन । मेरा सहयात्री साथीहरू रत्नप्रसाद खरेल, वीरमान श्रेष्ठ, काजीमान लामा, गोपालदास बादे श्रेष्ठ, द्वारिकादास कर्माचार्य, लीलाबहादुर केसी, सप्तलाल ताम्राकार, वासु कोइराला आदि पर्दछन् । उहाँ भन्नुहुन्छ – मैले राजनीतिमा स्थायीत्व दिनका लागि गोप्य रूपमा सङ्गठन गरी सत्याग्रहमा भाग लिएँ । २०३६ सालको आन्दोलनमा कांग्रेसका युवा कार्यकर्ताहरू गोबर्धन कर्माचार्य, तीर्थबहादुर पसखल, सुवर्णमान गोच्छे, गोकुलदास श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठलगायत १०–१५ जना युवाहरूको जमात लिई परिवारसहित आन्दोलनमा उत्रियौँ ।
२०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाम मोर्चा एक भई लड्ने राष्ट्रिय नीतिअनरूप एक जट भई आन्दोलनमा सफलता पाएको बताउनुहँदै प्रेमबहादुर महान अहिले नेपाली कांग्रेस पार्टीमा बढी बोल्न र गफ गर्न जान्ने जाली–फटाहा र चाकडी हावी भएको छ, अहिलेको राजनीतिमा त्याग र तपस्याको पार्टीमा मूल्याङ्कन नभएको र पार्टी कार्यक्रमहरू बढीजसो केन्द्रमुखी भएर गाउँस्तरमा पार्टीका नेताहरूले कुनै वास्ता नै नगरेको बताउनुहुन्छ ।
उहाँको परिवारमा श्रीमती पुतलीमायाँ श्रेष्ठ महाजू, छोराहरु जेठो कृष्णबहादुर महाजू, माईलो रामहादुर महाजू र कान्छो श्याम महाजू एवं छोरीहरु जेठी लालमायाँ महाजू श्रेष्ठ, माईली राममायाँ महाजू श्रेष्ठ र कान्छी शारदा महाजू श्रेष्ठ रहेका छन् । प्रजातन्त्र सेनानी महाजूप्रति मध्यमार्ग साप्ताहिक परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
