धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डेङ्गु सार्ने लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने कार्य र स्थानीय तहहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले पत्रकार तथा सरोकारवालाहरूसँग संवाद पनि गरियो ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले डेंगी राेगका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयाे । उहाँले लामखुट्टेको जीवनचक्र र डेंगी राेग लाग्ने कारण तथा नियन्त्रणका बारेमा जानकारी दिनुभयाे । उहाँका अनुसार डेंगी संक्रमण एडीज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगी फैलाउने लामखुट्टे सामान्यतया बिहानको समय ८–१० बजे र दिउँसो ३–५ बजे बढी सक्रिय हुन्छ । संक्रमित व्यक्तिलाई टोकीसकेको लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोकेमा संक्रमण सर्ने सम्भावना उच्च रहने श्रेष्ठले बताउनुभयाे ।
तथ्यांक अनुसार डेंगुको प्रकोप २०१९ मा, सात वटै प्रदेशका ६८ जिल्लाबाट कुल १७ हजार ९ सय ९२ केसहरू रिपोर्ट गरिएका थियो । त्यसमध्ये सुनसरीमा ३ हजार ४ सय ३१, चितवनमा ३ हजार ४ सय २, कास्कीमा २ हजार ८ सय २४, काठमाडौंमा १ हजार ५ सय ८९, ललितपुरमा ५ सय ९६ र झापामा ५ सय २५ जनामा प्रकोप देखिएको थियाे । डेंगीबाट चितवनमा २ सुनसरीमा १, सिन्धुपालनचोकमा १, काठमाडौंमा १ र डोटीमा १ गरी ५ जिल्लाबाट ६ जनाको डेंगुबाट मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । यस्तै ०७८/७९ मा ७ सय ३३, ०७९/८० मा ५६ हजार ३ सय ३८ र ०८०/८१ मा ४८ हजार ८ सय ८३ जना डेंगीबाट संक्रमित भएको तथ्यांकले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा डेंगी संक्रमित ०८०/८१ मा ६ हजार ७ सय ६५ जना परीक्षण गरिएकोमा २ सय ३० जनामा संक्रमण देखिएको र ०८१/८२ मा ७ हजार ५ सय ७० जना परीक्षण गरिएकोमा ६ सय ९७ जनामा संक्रमण भएको तथ्यांकको आधारमा जानकारी गराइएको थियो । विशेषगरी काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेश उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूले अन्तर्क्रियाका क्रममा बताएका छन्।कार्यक्रममा उठेका जिज्ञासा जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपतिले मेटाएकी थिइन् ।
