बनेपा । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा ‘रगत दिनुहोस्, आशा दिनुहोस्, सँगै हामी जीवन बचाउँछौं’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइयो ।
रक्तदाता दिवसमा २२ जनाले रक्तदान गरेका थिए भने ५० पटकभन्दा बढी रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसा–पत्रका साथ सम्मान गरिएको थियो । सोही अवसरमा निवर्तमान सभापति रघुनाथ हुमागाईंको संयोजकत्वमा रक्तदान उत्प्रेरणा उपसमिति गठन गरिएको नेपाल रेडक्रस काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैलले घोषणा गर्नुभएको थियो । सभापति भैलले ब्लड बैंकलाई व्यवस्थित गर्न २ करोड बराबरको अक्षय कोष खोल्न रकम उठ्दै गरेको बताउनुभयो । जसमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ५० हजार, सभापति देवेन्द्रप्रसाद भैलले २५ हजार, उपमन्त्री प्रदीप केसीले २५ हजार, इन्जिनियर निर्मल लामाले ३० हजार, उपसभापति पुष्पा खड्काले २० हजार, स्टोर किपर गोकुल बानियाँले २५ हजार १ सय र खरिबोट उपशाखाका सभापति कृष्णबहादुर श्रेष्ठले १५ हजार रकम प्रदान गर्ने घोषणा गरिएको थियो ।
कार्यक्रममा भुम्लु गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष अञ्चल लामा, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति भैल, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा यस वर्षको रक्तदानमा उत्कृष्ट भुम्लु उपशाखालाई घोषणा गरिएको थियो ।
विश्व रक्तदाता दिवसमा नेरेसो काभ्रेका सभापतिले दिनुभएको मन्तव्य
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरिएको रक्तदाता उत्प्रेरणा तथा रक्तदाताहरुलाई बिभिन्न विधामा सम्मान गर्न आयोजना गरिएको यस कार्यक्रमका अतिथिज्यूहरु सबैमा जय रेडक्रसको न्यानो अभिबादान तथा स्वागत गर्न चाहन्छु ।
रगतको अभावमा अकालमा ज्यान गुमाउन लागेका मानिसहरु अर्को ब्यक्तिले दान गर्ने रगतबाट नयाँ जिवन पाउँछन । त्यसैले रक्तदानलाई जीवनदान पनि भन्ने गरिन्छ । परोपकारमा रमाउने ब्यक्तिहरु आफ्नो उमेर १८ बर्ष पुग्ने बित्तिकै आफ्नो बिषेश उत्सव, जन्मदिन, बैबाहिक बर्षगाँठ वा अन्य बिषेश अवसरहरुमा नियमित रक्तदान गर्ने गर्दछन ।

सन् २००४ मा विश्व रक्तदाता दिवसलाई पहिलो पटक विश्व स्वास्थ्य संगठन (WHO) द्वारा सुरुवात गरिएको थियो भने २००५ मा भएको विश्व स्वास्थ्य संगठनको ५८औं विश्व स्वास्थ्य सभामा रक्तदानको महत्त्वको बारेमा जागरूकता जगाउन यसलाई वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा घोषणा गरिएको थियो । कार्ल ल्यान्डस्टाइनरको जन्मदिनलाई विश्व रक्तदाता दिवसको रूपमा मनाइन्छ, उनी अस्ट्रियाली अमेरिकी इम्युनोलोजिस्ट र १९३० मा नोबेल पुरस्कार विजेता थिए । हरेक बर्षको जुन १४ मा, विश्वले विश्व रक्तदाता दिवस मनाउँछ, जुन लाखौं स्वैच्छिक, अवैतनिक रक्तदाताहरूलाई विश्वव्यापी सम्मान हो जसले अरूलाई जीवनमा रगतको कारण बाँच्ने दोस्रो मौका दिन्छन । स्वयंसेवी रक्तदाताहरुको उदारताले जीवन बचाउँछ, समुदायहरूलाई बलियो बनाउँछ र एकताको भावनालाई मूर्त रूप दिन्छ । आजको दिन ति लाखौं स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद भन्नको लागि एक शुभ दिन हो साथै सुरक्षित, नियमित रक्तदानको लागि उत्प्रेरणा दिने दिन पनि हो ।
यस वर्ष, सन २०२५ मा विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस्, आशा जगाउनुहोसः सँगै हामी जीवन बचाउँछौं” “Give Blood, Give Hope; together we save lives” भन्ने रहेको छ । यस दिन, विश्वका विभिन्न देशका स्वयंसेवकहरूले खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्न रगत र प्लाज्मा दान गर्छन् । विश्व रक्तदाता दिवसको समयमा अरूलाई मद्दत गर्ने यो सबैभन्दा सजिलो तरिका हो । रक्तदानको महत्व जीवनबाट वञ्चित हजारौं मानिसहरूको जीवन बचाउनु मात्र होइन, विभिन्न रोगहरूबाट प्रभावित धेरै मानिसहरूको जीवन बचाउनु र असंख्य रोगहरूसँग लड्न मद्दत गर्नु पनि हो ।
रक्तदान गर्ने धेरैजसो मानिसहरू आफ्नो रोगबाट छिटो निको हुन्छन् र लामो आयु पनि बाँच्छन्, यसले तौल घटाउन, स्वस्थ कलेजो र शरिरमा आईरनको मात्रा स्थिर कायम राख्न, हृदयघात र क्यान्सरको जोखिम कम गर्न पनि मद्दत गर्दछ । रक्तदान गरी अरुको जीवन बचाउन पाउँदा आफुलाई आत्मसन्तुष्टी प्राप्त हुनुका साथै रक्तदाता स्वयंको पनि ब्यक्तिगत स्वास्थ्यमा पनि धेरै फाईदा पुग्ने बिज्ञहरुको धारणा छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले बि.सं २०५७ सालमा रक्तसञ्चार सेवाको स्थापना गरी काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, भक्तपुर लगाएतका रक्ततत्व आवश्यक देश भरीबाट आउने बिरामीहरुलाई सहज रुपमा रक्ततत्व उपलब्ध गराउँदै आएको कुरा म यहाँ उल्लेख गर्न चाहन्छु ।
हाल नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले बिभिन्न स्थानिय निकायहरु सँग सहकार्य गरी उक्त स्थानिय निकाय अन्र्तगतको रक्ततत्व आवश्यक बिरामीहरुलाई निशुल्क रुपमा सेवा पुराउँदै आईरहेको छ । यसरी सम्झौता गरी आफ्ना नागरीकहरुलाई निशुल्क रगत उपलब्ध गराउन सहयोग गर्नेमा बनेपा नगरपालिका तथा पाँचखाल नगरपालिका, सामुदायीक बचत तथा रिन सहकारी संस्था लि. रहेको छ, म उक्त स्थानिय निकायका नगरप्रमुखज्यूहरु र सहकारीका अध्यक्ष श्री मुकुन्द शर्मा ज्यूलाई बिषेश धन्यबाद प्रकट गर्दै काभ्रे जिल्लाका अन्य स्थानिय निकाय गाउँपालिका तथा नगरपालिका प्रमुखज्यूहरु लाई पनि यसै गरी आफ्ना नागरीकहरुलाई निशुल्क रगत उपलब्ध गराउने अभियानमा सहकार्य गरिदिनुहुन आह्वान गर्न चाहन्छु । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले बागमती प्रदेश सरकार सँगको सहकार्यमा पनि धुलिखेल अस्पतल र मेथिनकोट अस्पतालमा ृपचार गराउन चाहने बिरामीहरुको लागी निशुल्क रगत उपलब्ध गराउने प्रयास सुरुवात गरेको पनि म यस अवसरमा जानकारी गराउन चाहन्छु ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले जिल्लाबासीहरुलाई रगत तथा रक्ततत्व आवश्यक परेको जस्तोसुकै अवस्थामा पनि निशुल्क रगत उपलब्ध गराउने लक्ष्यको साथ रक्तसञ्चार सेवालाई ब्यबस्थित गर्न रु. दुई करोड रकम संकलन अभियान सञ्चालन गरेको र यस कोषको लागी मनकारी ब्यक्तिहरुले दान गर्न सुरु गर्नु भएको जानकारी गराउन पाउँदा म हर्षित छु । यस अभियानमा हालसम्म बिउपुँजीको रुपमा पाँचखाल नगरपालिकाको नगरप्रमुख श्री महेश खरेलबाट रु. पचास हजार, स्व नरेन्द्र प्रसाद भैलको सम्झनामा म स्वयं देबेन्द्र प्रसाद भैलले पच्चिस हजार, उपमन्त्री प्रदिप केसीका पिता लिला बहादुर के.सीको स्मृतिमा रु. पच्चिस हजार, खरिबोट उपशाखाका सभापति कुष्ण ब. श्रेष्ठले पिता गणेश बहादुर श्रेष्ठ र माता तुलसी कुमारी श्रेष्ठको स्मृतिमा रु. पन्ध्र हजार र रेडक्रस कर्मी तथा समाजसेबी ईन्जीनियर श्री निर्मल लामा तिस हजार, बुबा कृष्ण बहादु रबानियाँ र आमा मखमली बानियाँको स्मृतिमा रेडक्रस कर्मचारी गोकुल बानिया बाट रु. पच्चिस हजार एक रुपैयाँ, निर्वतामान सभापति श्री रघुनाथ हुमागाईबाट पिता लक्ष्मी प्रसाद हुमागाई र माता देवमाया हुमागाईको स्मृतिमा रु. पैंतिस हजार जाँच सय पाँच रुपैया, उपसभापति श्री पुष्पा खड्का बस्नेतज्यूबाट सासुआमा ज्ञानु बस्नेतको स्मृतिमा रु. बिस हजार पाँच सय पचपन्न सहयोग गरिसक्नु भएको उहाहरुको सम्मानमा सबैले तालि बजाईदिनुहुन म अनुरोध गर्दछु । यस सेवा कार्यमा जोडिन स्वदेश तथा बिदेशमा रहनुभएको काभ्रेली आदरणिय ब्यक्तित्वहरुमा बिनम्र अनुरोध गर्दछु र यस पुण्य कर्ममा साथ दिन काभ्रे जिल्ला अन्र्तगतको सबै स्थानिय निकायहरु, सरकारी निकाय, गैरसरकारी संघ संस्था र सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछु ।
आज बिश्व रक्तदाता दिवसको अवसरमा हामी नियमित रक्तदान गर्ने ब्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्ने बिभिन्न बिधामा सम्मान पनि गर्न लागिरहेका छौं, ति बिधाहरु निम्न रहेका छन्ः
१. वर्षमा ३ महिनाको अन्तरालमा ४ पटक रक्तदान गर्नुहुने रक्तदाता
२. यस बर्ष सबै भन्दा धेरै रक्ततत्व संकलन गराउने संघ संस्था
३. यस बर्ष सबै भन्दा धेरै पटक रक्तदान कार्यक्रम आयोजना गर्ने संघ संस्था
४. रक्तदान कार्यक्रमलाई आफ्नो बार्षिक कार्यक्रममा समावेश गरी समयमा रक्तदान गराउने संस्था
५. आवश्यक पर्दा बोलाउने बित्तिकै तुरुन्त आउने रक्तदाता
६. ५० पटक भन्दा बढि नियमित रक्तदान गर्ने रक्तदाता (५० पटक भन्दा बढि रक्तदान गर्ने धेरै ब्यक्तिहरु हुनुहन्छ तर यहाँ नियमित रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको अवगत गराउन चाहन्छु)
७. निशुल्क रक्तसञ्चार अक्षयकोष स्थापनार्थ सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरु
यति धेरै बिधामा सम्मानित हुने ब्यक्ति तथा संघ संस्थाहरुलाई उनिहरुको सम्मानमा तालि बजाएर सम्मान प्रकट गरिदिनुहुन र थप उत्प्रेरित गरिदिनुहुन म यहाँ आग्रह गर्न चाहन्छु ।
अन्तमा विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरिएको रक्तदाता उत्प्रेरणा तथा रक्तदाताहरुलाई बिभिन्न विधामा सम्मान गर्न आयोजना गरिएको यस कार्यक्रममा सहकार्य गर्नुहुने जनस्वास्थ्य कार्यालय काभ्रे, रक्तदानबाट अरु मानिसको जिवन बचाउन हरदम लागिरहने र धेरै भन्दा धेरै पटक रक्तदान गर्नुहुने रक्तदाताहरु, सहयोगी संघ संस्थाहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दै यस वर्ष सन २०२५ को विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस्, आशा जगाउनुहोसः सँगै हामी जीवन बचाउँछौं भन्ने नारालाई वर्षभरि उत्साहपूर्वक कायम राख्न अपिल गर्दे बिदा हुन्छु । धन्यवाद, जय रेडक्रस ।
देवेन्द्रप्रसाद भैल, सभापति
नेरेसो काभ्रे शाखा
