पाँचखाल । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइँदै गर्दा यहाँका किसानहरु भने बेखुशी भएका पाइयो ।
किसानले रासायनिक मल नपाएको भन्दै दुःखेसो गरेका हुन् । धेरै समस्याका चाङ भइरहेको अवस्थामा आएको धान दिवसले खासै उपलब्धि हासिल नहुने उनीहरुले बताए ।
जिल्ला कृषि विकास कार्यालय काभ्रे र पाँचखाल नगरपालिकाको आयोजना तथा पशु सेवा कार्यालय काभ्रे र बागबानी विकास केन्द्र पाँचखाललगायतको सहआयोजनामा पाँचखालमा धान दिवस मनाइएको थियो । रोपाईं महोत्सवमा सयौं किसानहरुको उपस्थिती रहेको थियो । यहाँ आधुनिक प्रविधि अपनाउँदै मेशिनबाट धान रोपिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, पाँचखाल नगरका प्रमुख महेश खरेल, जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, बागबानी विकास केन्द्रका प्रमुख विष्णु बोगटी, रेशम खेती विकास केन्द्रका प्रमुख कृष्ण धिताल, लगायत पत्रकार तथा किसानको उल्लेख्य सहभागिता रहेको थियो । पाँचखालका फाँटमा आइतबार आधुनिक प्रविधिमा धान रोप्ने मेसिन र फोर रो प्लान्ट प्रयोग गरिएको थियो । कार्यक्रममा सहभागी किसानहरुले समयमा मल नपाएको भन्दै गुनासो गरेका थिए ।

यसैगरि जिल्लाको मण्डनदेउपुर नगरपालिका ८ घाइटारको चाखोला फाँटमा परम्परागत गोरू, ट्याक्टर र स्थानीय शैलीको प्रदर्शन गर्दै रोपाईं महोत्सव गरिएको छ । काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण र काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत र आधुनिक कृषि प्रविधिको प्रयोग गरी रोपाइँ गरिएको थियो ।
उपस्थितहरुले खेतीमा प्रविधि भित्र्र्याउन सके धानमा देश आत्मनिर्भर हुने भन्दै उन्नत जातको खेतीमा जोड दिएका थिए । मण्डनदेउपुरमा आयोजित कार्यक्रममा वागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवा, उपमेयर विष्णुमणि नेपाल, बनेपाका मेयर शान्तिरत्न शाक्य, उपमेयर बिमला सापकोटा, चाँगुनारायणका मेयर जीवन खत्रीलगायत उपस्थित रहनुभएको थियो । काभ्रेमा असार १५ गतेसम्म ३८ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ ।
