नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार साँझदेखि शुरु भएको जात्रा बिहीबार सकिएको छ । जात्रा अन्तर्गत मंगलबार बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झनामा ‘दीप प्रज्वलन’ गरे ।
कात्तिक शुक्ल पूर्णिमा तिथी बुधबार दिनभरि बत्ती बालियो । जात्रा अन्तर्गत सोही रातिदेखि बिहीबार बिहानसम्म मेला लागेको थियो भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेहरूको घुइँचो लागेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो । यहाँ वत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यताअनुसार बर्षेनी पितृलाई बत्ती बाल्ने परम्परा छ । यहाँ पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको हो । पूर्णिमाका दिन भने शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मानिन्छ । उक्त दिन दर्शनार्थीको घुइँचो अन्य दिनभन्दा बढी हुने गरेको छ ।
किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि, ‘नमोबुद्धाय नमः’ बाट नमोबुद्ध नामकरण भएको थियो । द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य, जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्षेनी बौद्ध धर्मावलम्बीको घुइँचो लाग्ने गर्दछ । यस वर्ष मेलामा करिब ६० हजारले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीहरूले मेला भर्ने गरेका छन् । तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वतमा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो ।
सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको लामागुरु बताउँछन् । यहाँ पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको छ । राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानीले सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो ।
विसं ९७४ मा गन्धमान पर्वतको टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ । स्थानीयका अनुसार जात्रा–मेलाबाहेक पनि नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गर्दछ । मेलामा यसवर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहेको अनुमान छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *