बनेपा । नेपाल संस्कृति र मठमन्दिरको धनी देश हो । यहाँ हरेक ठाउँमा हरेक किसिमका विशेषता बोकेका पर्व, नाच र संस्कृतिहरु रहेका छन् । यसैक्रममा ऐतिहासिक शहर बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच पर्व संचालन भएको छ ।
बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म देवीनाच संचालन भएको हो । जात्रा व्यवस्थापन समितिको पहल र परम्परागत नाचगुठीको नेतृत्वमा भएकोे जात्रा सम्बन्धित गुठीयारहरु लगायत परम्परागत ङत त्वाः समाजका सदस्यहरुको सक्रिय सहभागितामा श्री श्वेतकाली देवीको नाच पर्व सम्पन्न गर्ने भएको जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नपा वडा नं ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिनुभयो ।
प्रत्येक १२ वर्षमा १२ वर्षे देवीनाच पर्व अन्तर्गत काठमाडौंको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडीको डबली, ललितपुर, किर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा यो नाच हुने गरेको छ । सो अन्तर्गत कार्तिक २० बनेपाको प्राचिन लायकु डबलीमा नरदेवी श्री श्वेतकाली (अजिमा) को १२ बर्षे नाच देखाइएको हो ।
समितिका संयोजक मानन्धरका अनुसार कार्तिक २० गते भक्तपुरबाट देवीको विधिवत प्रस्थान गराइ दिउँसो २ बजे बनेपाको लायकु गणेशस्थानमा ल्याइएको थियो । साँझ ५ बजे साँस्कृतिक बाजागाजासहित मंगलयात्रा गरेर देवीलाई लायकु डबलीमा ६ः३० मा प्रवेश गराइएको र मध्यरातसम्म नाच देखाइएको थियो । कार्तिक २१ गते बिहान ७ बजे करुणामयको नाचसँगै दोस्रो चरणको देवी नाच आरम्भ भयो । सो दिन साँझ ८ बजेसम्म देवीका सबै नाच पूरा भएका थिए ।
परापूर्वकालदेखि संचालन हुँदै आएको देशकै धार्मिक र साँस्कृतिक गौरव बोकेको श्री श्वेतकाली १२ वर्षे देवी नाच पर्वलाई बचाइराख्न र यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु यसको उद्देश्य रहेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । यो कुनै जाती विशेषको मात्र नभइ सबैको जात्रा भएकाले यसको अवलोकन गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । जात्राको आफ्नै मौलिक पहिचान र किंवदन्ती रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *