काभ्रे । पछिल्ला दिनहरुमा देशमा राजनीतिक गतिविधी अस्थिर छ । प्राकृतिक प्रकोपका घटनाहरु पनि दैनिकरुपमा बढीरहेका छन् । तैपनि विदेशी पर्यटकहरु आउने क्रम रोकिएको छैन । सबै पूर्वाधार सहज हुने हो भने पर्यटकहरुको उपस्थिती कति बढ्नेथियो भन्ने यो तस्बीरले प्रष्ट पार्छ ।
सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका दुई जर्मन नागरिकहरु आज काभ्रेको बेथानचोक पुगे । त्यहाँ रहेको माउण्ट महाभारत फार्मस्टेमा आलु गोड्न सघाउँदै थिए । यो दृष्यले कामका लागि आफ्नो देश छोडेर लाखौं खर्च गरेर विदेश गइरहेका नेपाली युवाहरुलाई सन्देश दिएको छ ।
विदेशीहरु नेपालमा घुम्न मात्र आउँदैनन् । यहाँका अवस्था, कृषि, संस्कृति र अरु रहनसहन बुझेर आफ्नो देशमा लैजान्छन् । उनीहरु अध्ययन गर्छन् र अरुलाई पनि सिकाउँछन् । यी विदेशीहरुले काम गरिरहेको देख्दा हामी आफैंले पनि स्वदेशका लागि केही गर्नु पर्छ भन्ने सन्देश दिने माउण्ट महाभारत होमस्टेका संचालक कमल नेपाल बताउनुहुन्छ । उहाँका अनुसार पर्यटकीय गन्तव्य बेथानचोकमा यस्ता पर्यटकहरु हिजोआज दैनिकरुपमा आइरहेका छन् ।
यस वर्ष नौ लाख ४३ हजार बढी पर्यटक नेपाल भित्रिए
यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो ।
गत अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ ।
अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए । यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *