सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७, सुलसिङ्गको ब्लाङ्जे झरना हिजोआज देश–विदेशका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । तर, यो प्राकृतिक सौन्दर्यको खानीमा अहिलेसम्म संघ र प्रदेशको नजर भने परेको छैन ।
वडा अध्यक्ष निलबहादुर खड्काका अनुसार, सामुदायिक सहयोग र सीमित बजेटकै भरमा झरनाको संरक्षण र प्रचारमा लागिएको हो । ‘गाउँपालिकाको स्रोत सीमित छ, तर हामीले वडाको केही बजेट झरनाको संरक्षण र प्रचारमा लगाएका छौं’ उनले भने । संघ र प्रदेशले ध्यान नदिँदा पूर्वाधार निर्माणमा समस्या भइरहेको उनले बताए ।
अध्यक्ष खड्का मात्र होइन, स्थानीय समुदाय पनि संघ र प्रदेश सरकारको मौनता प्रति असन्तुष्ट छ । झरना वरपरका बासिन्दाहरूले स्वेच्छिकरूपमा बाटो मर्मत, सरसफाइ र पर्यटक स्वागतमा सहयोग गर्दै आएका एक स्थानीयले बताए । उनीहरू भन्छन्, “हामीले सकेसम्म आफ्नो प्रयास गरिरहेका छौं, तर ठूलो पूर्वाधार बनाउन स्रोत र सरकारी सहयोग अपरिहार्य छ।
“हाल ब्लाङ्जे झरनामा दैनिकरूपमा सयौं आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । तर, सडक जीर्ण छ, यातायात असजिलो छ, खानेपानी र सरसफाइको व्यवस्थापन पनि कमजोर छ । सडकको अवस्था अत्यन्तै दयनीय छ, हालसम्म कुनै निकायको नजर परेको छैन,” वडा अध्यक्ष खडका भन्छन् ।
सामुदायिक पर्यटनको सम्भावना बोकेको ब्लाङ्जे झरना संघ र प्रदेश सरकारको योजनामा प्राथमिकतामा पर्न सकेमा यो क्षेत्रले हेलम्बु मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोकलाई पर्यटकीय नक्शामा स्थापित गर्न सक्ने उनले बताए ।
स्थानीयवासीहरूको एउटै माग छ । संघ र प्रदेशले अब हेरेर मात्र होइन, हात हालेर सहयोग गर्नुपर्यो। स्रोत र श्रम दुवै जुटाएर सामुदायिकस्तरमा अघि बढेको ब्लाङ्जे झरना, राज्यको साझेदारी पाए राष्ट्रिय गन्तव्य बन्न सक्ने स्थानीयको अपेक्षा रहेको छ ।
