बनेपा । नेपाल उद्योग वाणिज्य महासंघको ४३औं साधारणसभा तथा ५९औं स्थापना दिवस नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्दै व्यवसायीहरू सुरक्षित महसुस गर्न नसकेसम्म निजी क्षेत्रले देशको अर्थतन्त्रमा आफ्नो योगदान प्रभावकारी रूपमा दिन नसक्ने बताउनुभयो ।
आइतबार बनेपामा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्र रोजगार, कर र पूर्वाधार विकासको प्रमुख आधार हो। तर, व्यवसाय गर्ने वातावरण असुरक्षित रहँदा उद्यमीहरू निराश बन्न पुगेको बताउनुभयो ।
२०४६ सालपछि भएका प्रायः आन्दोलनमा उद्योगी–व्यवसायीहरू आन्दोलनको लक्ष्य बन्न बाध्य भएको भन्नुहुँदै जबसम्म राज्यले व्यवसायीलाई आन्दोलनको निशाना बन्न नदिने स्पष्ट संकल्प गर्दैन, तबसम्म निजी क्षेत्र ढुक्क भएर काम गर्न नसक्ने बताउनुभयो ।
पछिल्लो समय भएको जेनजी आन्दोलनको उद्देश्य पारदर्शिता र सुशासन भए पनि त्यसका नाममा आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधि भएको भन्दै संलग्नहरूलाई कडा कारबाही गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।
संघको अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा हलो देखि हाईड्रो सम्म भएका लगानीको सुरक्षा, ब्यवसायीक वातावरण, उद्योगमैत्री नीति, विकास निर्माण तथा नागरिकहरुले खोजेको रोजगारमा नीजि क्षेत्रको लगानी लगायतका विषयमा धारणा राख्नुभयो ।
कार्यक्रम संस्थाका महासचिव रजित पलाञ्चोकेले संचालन गरेको कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण बैद्य तथा ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पाँचखालका नगर प्रमुख महेश खरेल, उपप्रमुख विमला सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो भने प्रस्तुत गरेका प्रतिवेदनहरु साधारणसभाबाट पास गरिएको थियो ।
