काभ्रे । बीपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको नमोबुद्ध नगरपालिका–२ बेलामा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सोमबार दिउँसो साढे १२ बजेतिर धुलिखेलबाट भकुण्डेबेँसीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २०४४ नम्बरको इभी कारको टाइरेट भाँच्चिएर अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ८२४० नम्बरको यात्रुबाहक बसमा ठक्कर खाई दुर्घटना भएको हो ।
कार चालक मोरङ जिल्ला बेलवारी नगरपालिका–१ बस्ने बर्ष ४१ का सलबहादुर धिमालको दुवै हात खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै कारमा सवार सिरहा जिल्ला सुखिपुर नगरपालिका–१० बस्ने बर्ष २२ का सुनिलकुमार महत्तोको टाउकोमा र दाहिने हातको कुममा भित्री चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
बस र बस चालक रामेछाप जिल्ला मन्थली नगरपालिका–७ घर भई हाल भक्तपुर चाँगुनारायण बस्ने बर्ष ३९ का उदयबहादुर मगर जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
