काठमाडाैँ । आज अंग्रेजी नयाँ वर्षकाे पहिलाे दिन अर्थात् जनवरी १ । विगत वर्ष जस्तै आज नेपाली टाेपी दिवस मनाइँदैछ ।
नेपाली टाेपी दिवसकाे अभियान्ता संस्था जागरुक युवा अभियान नेपालले यस वर्ष पनि टाेपी दिवस मनाउन सबैमा आव्हान गरेकाे छ।
साे संस्थाले यस बर्ष १३ औं नेपाली टोपी दिवस मनाउन सबैलाई आव्हान गरेकाे हाे । यस वर्षकाे टाेपी दिवसकाे नारा ‘नेपाली टोपी हाम्रो शान : सबै पोशाकलाई सम्मान’ रहेको संस्थाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
‘हामी सदाझैं यसवर्ष पनि नेपाली टोपी दिवस भब्यताका साथ मनाउन गइरहेको कुरा अवगत गराउन चाहन्छौं । यस वर्षको १३ औं नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपी हाम्रो शान : सबै पोशाकलाई सम्मान’ रहेको छ । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोलोलाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएका छौं ।’ संस्थाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका अनुसार यस वर्ष निर्वाचन र देशकाे संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रभातफेरि लगायतका कार्यक्रम भने गरिने छैन । ‘हामी जो जहाँ छौं, जे सकिन्छ, सकेको कार्यक्रम गरि टोपी दिवस त्यहीँबाट मनाउन पनि सबैलाई आव्हान गर्दछौं ।’ विज्ञप्तिमा भनिएकाे छ ।
जागरुक युवा अभियान नेपालका अभियन्ताहरु रामजी बलामी, संस्थापक, घनश्याम श्रेष्ठ, संयोजक, र सदस्यहरु ज्ञानमणि नेपाल कालोटोपी, जनार्जन पौडेल, वसन्त हुमागाईं ,जनक कार्की र शोभराज बरालद्वारा जारी विज्ञप्तिमा विगतदेखि यहाँसम्म आइपुग्न महत्वपूर्ण साथ सहयोग दिनुहुने सम्पूर्ण संचारकर्मी महानुभावहरुप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दै यसवर्ष पनि सबैको अमूल्य साथ र सहयोगको अपेक्षा गर्दछौं भनिएकाे छ । साे संस्थाले हरेक अंग्रेजी नयाँ वर्षलाई नेपाली टाेपी दिवसका रुपमा मनाउँदै आइरहेकाे छ ।
