सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा नाम्लाङ खोलामा निर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका तथा कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) को सहयोगमा निर्माण भएको उक्त पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्यहरू, गाउँकार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि, अस्पताल प्रमुख डा.प्रवेश गजुरेल लगायतको उपस्थिती थियो ।

संस्थाको तर्फबाट प्रोजेक्ट म्यानेजर रमेशकुमार श्रेष्ठले पुललाई औपचारिकरूपमा हस्तान्तरण गर्नुभएको थियो । कादुरी संस्थाले हालसम्म नेपालभर ६०० भन्दा बढी झोलुङ्गे पुल निर्माण गरिसकेको र प्रत्येक वर्ष करिब १४ वटा पुल निर्माण गर्दै आएको जानकारीसमेत कार्यक्रममा दिइयो । सिन्धुपाल्चोक जिल्लामा भने उक्त संस्थाले पहिलोपटक पुल निर्माण गरेको हो ।

यस पुलको प्रारम्भिक लागत एक करोड २४ लाख रुपैयाँ अनुमान गरिएको भए पनि निर्माण कार्य सम्पन्न हुँदा लागत घटेर एक करोड ११ लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिइयो । पुल निर्माणमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय योगदान रहेको थियो ।

कार्यक्रममा स्थानीय लोक कलाकारहरूले लोकदोहोरीमार्फत आफ्ना अनुभव र भावना प्रस्तुत गर्दै संस्थाप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले पुल निर्माण आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै कादुरी संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । साथै, भविष्यमा सोही खोलामा थप दुईवटा पुल निर्माण गर्न संस्थासँग अनुरोध गर्नुभयो । उहाँले जग्गादाता मरिचमान तामाङ, चतुर्मान तामाङ र एकदमै सिंह तामाङ लगायतलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काले विगतमा स्थानीयले भोग्दै आएका कठिनाइहरू अब अवसरमा परिणत भएको उल्लेख गर्दै आगामी दिनमा थप दुईवटा पुल निर्माणका लागि पहल गरिने र संस्थासँग निरन्तर सहकार्यको अपेक्षा गरिएको बताउनुभयो । यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रहेका साधारण समस्याहरूलाई समाधान गर्न सके भविष्यमा विकासको क्षेत्रमा अगाडि बढ्न सकिने आशा व्यक्त गर्न सकिने कुरामा जोड दिनुभयो ।

कार्यक्रमको सञ्चालन वडा नं. ८ का पशु स्वास्थ्य प्राविधिक राजेश खड्का र राजन भुजेलले गर्नुभएको थियो भने व्यवस्थापनमा अस्पतालका प्रशासन प्रमुख सरोज धिताल, ठाडोखोला–कालठोटा झोलुङ्गे पुल योजना उपभोक्ता समिति तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *