ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई यो पटक पनि दूग्ध विकास संस्थानले झुक्याएको छ ।
यसअघि नियमित भुक्तानी दिनेगरि विभिन्न समयमा भएका सम्झौताहरुको उल्लंघन गर्दै संस्थानले किसानलाई दूध बेचेको पैसा नदिएको ५ महिना नाघ्यो ।
राजधानी काठमाडौं लगायतका बजारमा संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आएको छ । तर किसानले भने आधा वर्षसम्म पैसा पाएका छैनन् । यहाँका किसानहरुले भुक्तानीको माग राख्दै यसअघि विभिन्न समयका कृषिमन्त्रीलगायतका विभिन्न नेताहरुसँग भेट गरिसकेका छन् । भेटमा उनीहरुले मिठा आश्वासन दिएर पठाए तर पैसा पठाएनन् ।
तत्कालिन कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट हुँदा उनले किसान प्रतिनिधिलाई डिडिसीमा दूग्धजन्य पद्धार्थको स्टक धेरै रहेको र बिक्री नभएकाले भुक्तानी दिन ढिलाई भएको बताउँदै करिब ४० करोड बराबरको घिउ चीनलाई बिक्री गर्ने तयारी भएको र त्यसबाट आएको पैसा किसानलाई दिइने आश्वासन दिएका थिए । तर किसानले यस्तो आश्वासन पाएको डेढ वर्षसम्म पनि समस्या उस्तै रहेको किसान प्रतिनिधि सुन्दर नेपालले बताए ।
यसभेगको जोगिटार चिलिङ सेन्टर अन्तर्गतका किसानले मात्र करिब ८५ लाख रुपैंयाँ भुक्तानी लिन बाँकी छ भने आँपघारी दूग्ध उत्पादक सहकारीको मात्र ४३ लाख बढी बाँकी रहेको संस्थाका अध्यक्ष सुरेन्द्र नेपालले जानकारी दिए । त्यसैले नेपालका किसानलाई हरेक समस्या छन् भन्ने कुरा अब नयाँ रहेन । अभावै अभावका बीच अनेक हण्डर खाएर उत्पादन गरेका कृषि उपजहरुको बजार नहुँदा समस्यामा रहेका उनीहरु विगत केही वर्षयता रासायनिक मल नपाउँदा हैरान भए । समस्याकै बीचमा यहाँका किसानहरुलाई अहिले अर्को पीडा थपिएको छ, दूधको भुक्तानी समयमा नपाउनु । पहिले हरेक १५ दिनमा आफूले बेचेको दूधको भुक्तानी पाउँदै आएका किसानहरुलाई दूग्ध विकास संस्थानले नियमित भुक्तानी दिन छोडेको छ ।
करिब चार दशकदेखि काभ्रेका किसानहरुको आम्दानीको मुख्य स्रोत पशुपालन र तरकारी खेती भएको छ । जिल्लामा अहिले यसतर्फ लाग्ने किसानको संख्या एक लाखभन्दा बढी छ । देशका सबै किसानले भोग्दै आएका साझा समस्या यहाँका किसानले पनि भोगिरहेका छन् ।
भुक्तानी समयमा नदिनुको कारण दूधको बजार माग घटेको र पाउडर दूध बनाउनु पर्ने बाध्यता आएको संस्थानले जनाएको छ । नियमित आउँदै गरेको भुक्तानी नआएपछि किसानहरु समस्यामा छन् । यो समस्या लिएर धेरैपटक उनीहरु दूग्ध विकास संस्थानको कार्यालय लैनचौर पुगे । पैसा नै नपाइएको होइन तर बक्यौता धेरै भएपछि समस्या भएको किसान बताउँछन् ।
समयमा पैसा नआउँदा घर खर्च चलाउन र गाईवस्तुलाई दानापिठो किन्न पनि समस्या भएको किसानहरुको गुनासो छ । संस्थानले अनावश्यक कर्मचारी राखेर खर्च धान्न नसकेपछि किसानलाई अनेक बाहाना बनाएर दुधको भुक्तानी रोकेको भन्दै स्थानीय कृषक सुब्बाबहादुर नेपालले आक्रोश पोखे । पाँच महिनाको ब्याजसहित भुक्तानी पाउनु पर्ने उनको माग छ ।
मण्डनदेउपुरमा दुध उत्पादन गर्ने किसानको संख्या १० हजारभन्दा बढी छ । उनीहरुले दैनिकरुपमा करिब २५ हजार लिटरभन्दा बढी दुध राजधानीका बजारमा पठाउँछन् । केही किसानहरुले निजी डेरीहरुलाई पनि बेच्छन् भने धेरैजसोले वर्षौंदेखि सरकारी माताहतको दूग्ध विकास संस्थानलाई दूध बेच्दै आएका छन् । निजी डेरीहरुले समयमै पैसा दिँदा सरकारी निकायको संस्थानले किसानलाई समयमा भुक्तानी दिएको छैन । दुधको मूल्य समयमै पाउन उनीहरुले माग गरिरहेका छन् ।
यो समस्या लिएर दूग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालय पुगेका किसानहरुलाई संस्थानले विभिन्न बाहाना बनाउँदै आएको छ । कोरोना अवधिदेखि आर्थिक मन्दी शुरु भएको र पछिल्ला दिनमा दूधको खपत घटेका कारण समयमा भुक्तानी दिन नसकेको संस्थानले भनेको छ । आगामी दिनमा संस्थान किसानलाई समयमै दूधको भुक्तानी दिने प्रयासमा रहेको र यो समस्या नदोहोरिने आश्वासन पाएको आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र नेपाल बताउँछन् । पुराना सरकारका मन्त्रीहरुले आश्वासन मात्रै दिए । तर अब देशमा नयाँ र बलियो सरकार बनेको छ । हेरौं केही होला कि । नेपालले भने ।
राजधानीको बजारमा दूग्ध विकास संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आएको छ । उपभोक्ताले कुनै दिन एक रुपैयाँ छुट पनि पाउँदैनन् । तर किसानहरुको दूध खरिद गरिरहेको सरकारी निकायले महिनौंसम्म उनीहरुलाई भुक्तानी नदिएर यो हदसम्मको अपराध गरिरहेको छ । अब पनि नियमितरुपमा भुक्तानी नपाए सबै किसानहरु जुटेर केन्द्रीय कार्यालय घेराउ गर्ने उनीहरुको चेतावनी छ ।
सहमतिको मसी कहाँ सुक्यो ?
सरकार र आन्दोलनरत दूग्ध किसान तथा डेरी उद्योगबीच बक्यौता रकम गएको दशैंअघि भुक्तानी गर्ने सहमति भएको थियो । त्यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दूग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनका पदाधिकारीलगायतबीच ६ बुँदे सहमति भएपछि आन्दोलनरत किसानले विरोधका सबै कार्यक्रम स्थगन गरेका थिए ।
दूग्ध उत्पादक कृषकलाई २०८२ असार मसान्तसम्मको दूधको भुक्तानी असोज ५ गतेभित्र गर्ने सहमति भएको थियो । त्यस्तै साउन मसान्तसम्मको बाँकी बक्यौता असोज ३० गतेभित्र र भदौ मसान्तसम्मको बाँकी बक्यौता रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको थियो । त्यसपछि बाँकी पैसा नियमितरूपमा भुक्तानी गर्दै जाने सहमति भए पनि यसको कार्यान्वयन भएन । त्यसैले किसान फेरि आन्दोलित हुने अवस्था आएको छ ।
दूधको बक्यौता तिर्न भन्दै डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको भएपनि किसानले ५ महिनासम्मको भूक्तानी लिन बाँकी छ । पटकपटक आन्दोलन गरे पनि किसानका माग पूरा भएका छैनन् ।
