ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड निर्माणको समय थपिएको छ । गत चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा सडक बन्द गरेर काम शुरु गरिएकोमा यस अवधिमा काम नसकिएपछि अब चैत ३० गतेसम्म समय थपिएको हो । यसबीचमा एकतर्फीरुपमा साना यातायात संचालन गरिने बताइएको छ ।

यस अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपांग्रे सवारी साधनहरू चल्न रोक लगाइएको थियो । उक्त समयमा यात्रुबाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यस अवधिमा टिपर र ट्रकहरू -पास लिएकासमेत) चौबिसै घण्टा संचालनमा रोक लगाइएको कार्यालयको सूचनामा उल्लेख छ । यसअघि करिब ५ वर्षदेखि यो सडक निर्माण सम्पन्न हुन सकेको थिएन । पहिलेको ठेकेदार कम्पनीले समयमा काम नगरेपछि अहिले नयाँ ठेकेदार कम्पनीलाई यसको जिम्मा लगाइएको छ । अब भने यस सडकमा हुने गरेका सास्ती हट्ने अपेक्षा गरिएको छ ।

यता धुलिखेल–खावा खण्डको करिब ४ किलोमिटरमा सडक निर्माण कम्पनी र प्राविधिक टोलीले ४ घण्टा पुरै सडक पैदल हिँडेर सुक्ष्म निरीक्षण गरेको छ । निर्माण कम्पनी ए–वान बिल्डर्सका प्रमुख, सडक डिभिजनका ई.सिताराम बुढाथोकी, धनदेव जोशी लगायतको टोलीले अनुगमन गरेको र वैशाख महिना अगावै कालोपत्रे सम्पन्न हुने विश्वासका साथ काम अघि बढाइएको धुलिखेल नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष बिनोद गौतमले जानकारी दिए ।

अवलोकनका क्रममा निर्माण कार्यमा सुधार, थप सडक सुरक्षा तथा आवश्यक अन्य कार्यहरूबारे विस्तृत योजना बनाइएको छ । निर्माण कार्य सम्पन्न हुने क्रमसँगै स्थानीय उपभोक्ताका गुनासोहरू पनि सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको वडाध्यक्ष गौतमको भनाइ छ । सडक डिभिजन भक्तपुर, निर्माण कम्पनी तथा निरन्तर खबरदारी गरिरहने संचारकर्मीलगायतलाई टोलीले धन्यवाद पनि दिएको छ ।

यो वर्ष भने कुनै सास्ती हुँदैन
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको निर्माणाधीन धुलिखेल–खावा सडक खण्डको स्तरोन्नती कार्यले यो वर्ष भने पूर्णता पाउने भएको छ । विगतमा यात्रीहरुले निकै कष्ट भोग्नुपरेको भए पनि यो वर्षायाममा भने त्यो अवस्था नहुने भएको हो । चार वर्षसम्म सडक नबनेको र निर्माणले गति नलिएपछि पुरानो कम्पनीसँग ठेक्का रद्द गरेर नयाँ कम्पनीले काम थालेपछि अब भने निर्माण समयमै सम्पन्न हुने आशा पलाएको छ ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम पुरानो कम्पनी गौरी–पार्वती निर्माण सेवा’ ले २०७९ जेठ २० गते २२ महिनाभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजारमा ठेक्का लिएको थियो । तर सो ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशत निर्माण कार्य भएको थिएन । त्यसपछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतीको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा’सँगको ठेक्का रद्द गरेको थियो ।

उक्त सडक खण्डको ठेक्का रद्द गरेपछि उच्च अदालत गएका व्यवसायीको मुद्दामा अदालतले …निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत कारबाही नगर्न तथा हाल जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश जारी गरेपछि सडक खण्ड निर्माणका काममा अवरुद्ध भएको थियो । तर अब भने पुराना समस्या समाधान भएको र निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय भक्तपुरको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *