काभ्रे । मण्डनदेउपुर नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यू लिटिल स्टार मावि महादेवस्थान कुन्तावेशीले हात पारेको छ ।
मंसिर २८ गते सुरु भएको प्रतियोगिता गत आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।
मण्डनदेउपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख लोकेन्द्र बिष्टले प्रतियोगितामा ९० पदकका लागि प्रतिस्पर्धा भएको जानकारी दिए । प्रतियोगितामा न्यू लिटिल स्टार ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित १५ पदकका साथ प्रथम भएको छ । त्यस्तै बागदेवी माध्यमिक विद्यालय ४ स्वर्ण, ७ रजत र ४ कास्यसहित १६ पदकका साथ दोस्रो भएको छ भने ४ स्वर्ण, ४ रजतसहित ८ पदकका साथ महाकाली माध्यमिक विद्यालय वडा नम्बर २ तेस्रो भएको छ ।
प्रतियोगितामा विजयी खेलाडीलाई नगरप्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, वडाअध्यक्षहरुको सहभागितामा पुरस्कार वितरण गरिएको थियो ।
