- ज्ञानमणि नेपाल कालोटोपी
धुवाँ एउटै हो, कुनैले चिसो दाउराको संगत गर्छ र सबैको आँखा पिरो बनाउँछ भने कुनैले अगरवत्तीको संगत गर्छ र सबैको लागि मिठो बास्ना छर्छ । त्यसैले भनिन्छ नि ‘संगत अनुसारको फल प्राप्त हुन्छ ।’ कोही अभिभावक आफ्ना छोराछोरीले विद्यालयमा ‘ए प्लस’ रिजल्ट ल्यायो भनेर मख्ख परिरहेका हुन्छन् । तर उनीहरुले यो सोचिरहेका हुँदैनन् कि किताबी ज्ञानले मात्र मानिस मानिस बन्न सक्दैन ।
जबसम्म हामीले आफ्ना छोराछोरीलाई घरव्यवहारका कुरा सिकाउँदैनौं, आफूभन्दा ठूलालाई आदर, सानालाई माया गर्नुपर्ने कुरा सिकाउँदैनौं, तबसम्म उनीहरु पूर्ण हुँदैनन् । हिजोआजका नानीबाबुहरु प्रविधिमा रमाइरहेका हुन्छन्, जसले गर्दा उनीहरुलाई यस्ता कुरा थाहा नै हुँदैन । हुन त यी कुरा बच्चाहरुलाई सिकाउन अभिभावक आफूले पनि सिक्नुपर्छ नि । आफैं व्यवहारिक छैनौं भने हामीले बालबच्चालाई कस्तो संस्कार सिकाउन सक्छौं र ?
हिम्मतको बाँध टुटेपछि आफूभित्रको सहनशीलताले पनि गति छाड्छ । मान्छेहरु प्रतिक्षाको फल मिठो हुन्छ भन्छन् तर कहिलेसम्म प्रतिक्षा गरिरहने भन्ने चाहिँ भन्न सक्दैनन् । कसैको हेपाइ र पीडामा परेको मान्छेका लागि यस्ता प्रतिक्षाको कुनै नियम लाग्दैन र ऊ विद्रोह गर्न थाल्छ । कहिलेकहिँ त लाग्छ, साँच्चै यहाँ बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । त्यसैले नियम कानुन साँचो बोल्ने, सिधासाधाको लागि मात्र हो कि जस्तो पनि लाग्छ । फटाहा र डाँकाहरुका लागि संसारमा कुन नियमले काम गरेको छ र ? हामी चोरबाट सूरक्षाको लागि घर र ढोकामा ताल्चा किनेर लगाउँछौं । फटाहाले त त्यो ताल्चा पनि फुटाएर लैजान्छ नि । त्यसैले यो विर्सनु हुँदैन, कि दिनभरि अरुलाई सूरक्षा दिने भनिएका ताल्चा पसल पनि बेलुका चोरले चोरेर लैजान्छ ।
मानिसले सधैं एउटा कुरा ख्याल गर्नुपर्छ, कि सबैले मलाई बुझ्नु आवश्यक छैन, तराजुले केवल तौल मापन गर्छ, गुणस्तर होइन । तपाईं सबैका लागि आवश्यक नहुन पनि सक्नुहुन्छ । मान्छे नराम्रो कोही पनि हुँदैन, दुष्मनी नराम्रो हो, इगो नराम्रो हो । अरुका कमजोरीलाई स्विकार्न नसक्नु नराम्रो हो । सबै आफैं जस्तै होउन् भन्ने सोच राख्नु नराम्रो हो । त्यसैले कसैले साथ देलान् भन्ने आशा गर्नु हुँदैन, दुःखमा आँसु पुछ्ने हात सधैं आफ्नै मात्र हुन्छ, जीवनका कठीन घडीहरुमा मात्र आफ्नै साहस र आत्मविश्वासले साथ दिन्छन् । अप्ठ्यारोमा तपाईं एक्लै हो सधैं सधैं । सजिलो भयो भने दुनियाँ ओइरिन्छन् सहयोग गर्छु भनेर ।
जीवनमा हार र चुनौतीहरु त केवल आँट र सफलताको बाटो बनाउने सिँढीहरु हुन् । अघि बढ्दै गर्नुस्, तपाईंको मिहेनतले एकदिन संसार बदल्नेछ । भनिन्छ नि, मौनता पनि कहिलेकाहिँ चिच्याएर बोल्छ । तर त्यसलाई सुन्ने क्षमता कमै मात्रको हुन्छ । शारीरिक भारीले थिचिएको मान्छेको मन सबैले देख्छन् तर हृदयको भारी बोकेर थाकेको मन बुझ्ने मान्छे कम हुन्छन् । त्यसैले यो पनि सत्य हो कि कुनै रुखमा क्षमताभन्दा बढी फल लाग्यो भने रुखको हाँगा भाँचिन शुरु गर्छ । अनि कुनै मानिसले पनि औकातभन्दा बढी धन कमाउन थाल्यो भने उसले सम्बन्ध तोड्न शुरु गर्छ । जसको परिणामले रुख विस्तारै फलहरुबाट बञ्चित हुँदै जान्छ भने मानिस आफ्नो नाता र सम्बन्धसँग ।
कसैलाई जबर्जस्ती नगर्नुहोस्, कि उसले तपाईंलाई सम्झियोस्, माया गरोस् र हजुरका लागि समय निकालोस् । बरु उसको जीन्दगीबाट केही दिन हराएर हेर्नुहोस्, अनि थाहा पाउनुहुन्छ, तपाईंको महत्व उसको जीवनमा कति छ भनेर । प्रेम जीवनको सबैभन्दा गहिरो र सुन्दर भावना हो । यो दिलबाट उत्पन्न हुने आत्मियता, सम्मान र समर्पणको प्रतीक हो । प्रेममा न त स्वार्थ हुन्छ, न कुनै अपेक्षा नै । प्रेम त जहाँ जोसङ्ग पनि हुन सक्छ । आफ्नो होइन भन्ने थाहा हुँदाहुँदै पनि उसकै चाहाना हुन्छ । आफ्नो हुँदैन भन्ने पनि थाहा छ तर उसको काखकै खोजी हुन्छ, उसको आँसुले उसलाईभन्दा बढी आफूलाई पोल्छ । साँच्चै प्रेम जो सङ्ग हुन्छ उसै सङ्ग आफ्नो जिन्दगी जोडिएको हुन्छभन्दा फरक पर्दैन । यो भोग्नेले बुझेको हुन्छ । सुन्नेका लागि कथा जस्तै लाग्छ । यथार्थता पनि यसमै छ । त्यसैले भनिन्छ, ‘बाउले हकारेको छोरो, गुरुले कुटेको चेलो र कालीगढले पिटेको सुन आखिर सबै आआफ्नो ठाउँमा गहना बन्छन् ।’ कसैको सन्दर्भमा भने यो मेल नखान पनि सक्छ ।
