धुलिखेल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको लागि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न पनि कार्यकर्ताहरुलाई आग्रह गर्दै ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं’– प्रचण्डले भन्नुभयो– ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।’
जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई बिरोधीले अपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । ‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो’– उहाँले भन्नुभयो– ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, बामपंथ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौं, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’
शान्ति प्रक्रिया र संविधान लेखनहुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरिएको उल्लेख गर्दै उहाँले अब पार्टी सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने बताउनुभयो । जनयुद्धको थालनी, जनयुद्ध सञ्चालन, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा जस्ता युगान्तकारी निर्णय गर्ने अवसर पाउने माओवादी मात्रै एक मात्र शक्ति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने बताउनुभयो । यद्यपि यसका लागि माओवादी नेता कार्यकर्ताहरुको रुपान्तरणको विकल्प नभएको अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो ।
समाजवादी क्रान्तिकै लक्ष्यसहित आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको मूल बाटो तय गर्दै भ्रष्टाचारविरुद्धको महाअभियान सुरु गरेको उहाँले स्पष्ट गर्नुभयो । ‘म आज तपाईहरुलाई आत्मविश्वासका साथ भन्न सक्ने अवस्थामा उभिएको छु, हामीले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नै समाजवाद निर्माणको भ्रुण थियो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीलाई कांग्रेस एमालेभन्दा फरक हो भनेर जनताले सजिलो गरी बुझ्ने अभियान पनि यही हो र पार्टीको अबको बाटो पनि यही हो ।’
यही सङ्कल्प नै अहिले जनतामा आशाको दियो बाल्ने, पार्टी पुनर्निर्माण गर्ने र नेता कार्यकर्ताहरुमा रुपान्तरणको आत्मविश्वास बढाउने प्रारम्भिक विन्दुको रुपमा स्थापित हुन पुगेको उहाँले बताउनुभयो । ‘हामी प्रतिष्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको नेता पार्टी माओवादीलाई बनाउँछौं, तपाईहरु हरेक क्षेत्रमा देखिने बेथिति र भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुस्’– कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामी सबै नेता कार्यकर्ताहरु रुपान्तरण भएर जनताको बीचमा जाऔं, फेरि पनि जनताको एकताको तागतको बलमा हामी विजयी हुन्छौं ।’ दलाल र बिचौलियाहरुको घेरामा परेपछि क्रान्तिकारी नैतिकता हराउने उल्लेख गर्दै उहाँले क्रान्तिको एक मात्र शर्त इमान र जनताप्रतिको समर्पणभाव भएकाले यसमा कुनै पनि तहका नेता कार्यकर्ताहरुले दायाँबायाँ गर्न नहुने बताउनुभयो ।
सोही अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको हो । तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना, बेथानचोकबाट बद्रिप्रसाद तिमिल्सिनासहित १० जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
धुलिखेल नगरपालिकाको हलमा राजनीतिक वैचारिक प्रशिक्षण जारी छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ लगायतका नेताहरुले बोल्नुभएको थियो ।
