बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको समृद्धिमा काठमाडौं विश्वविद्यालय र आगामी नेतृत्वको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम बनेपामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागि सरोकारवाला निकाय तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरुले काठमाडौं विश्वविद्यालयभित्र चरम विकृती रहेको र यसमा सुधारको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा काभ्रे सेवा समाजका पूर्वअध्यक्ष केशव थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा ०४८ सालमा गैरनाफामुखी र सामुदायिक विश्वविद्यालयको धारणा अनुरुप यसको स्थापना भएको उल्लेख गर्दै उहाँले प्रारम्भमा गुणस्तरिय शिक्षाको रुपमा ख्याती कमाएको यस विश्वविद्यालयले स्थापना कालदेखि नै नेतृत्वका लागि गुणस्तरिय शिक्षा भन्ने मान्यता बोकेर अघि बढीरहेको उल्लेख गर्नुभएको छ । सन् १९९१ मा आइएस्सीबाट अध्यापन गरेको यस विश्वविद्यालयले अहिले मानविकी, व्यवस्थापन, विज्ञान, वाणिज्य, चिकित्साशास्त्र, इञ्जिनियरिङ लगायतका संकायमा एमफिल र पिएचडीसम्मको उपाधी प्रदान गरिरहेको छ ।
यता विश्वविद्यालय अवस्थित रहेको काभ्रेपलाञ्चोक जिल्लाको समग्र साक्षरता प्रतिशत ७५ दशमलव ६८ रहेको कार्यपत्रमा उल्लेख छ । जसमा पुरुषको साक्षरता दर ८४ दशमलव १४ र महिलाको साक्षरता दर ६७ दशमलव ६० रहेको छ । यसर्थ काठमाडौं विश्वविद्यालयले काभ्रे जिल्लाको लागि शिक्षामा धेरै योगदान पुर्याउनु पर्नेमा कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
कसले के भने ?
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विश्वविद्यालयले अहिले जिल्लाका धुलिखेल, बनेपा र पनौतीबाहेक अरु पालिकालाई चिन्न नसकेको बताउनुभयो । उहाँले सबै पालिकाका विद्यार्थीलाई समेट्न सुझाव दिनुभयो । नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला संयोजक भोला अर्यालले केयुमा काभ्रेका सांसद र शिक्षासेवीको पनि पहुँच हुन नसकेको अवस्थामा आम नागरिकले विश्वविद्यालयबाट के लिन सक्ने भन्दै प्रश्न गर्नुभयो ।
अन्य सरोकारवालाहरुले भने पनि जिल्लाको समृद्धिका लागि विश्वविद्यालयको आगामी नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा जिल्लाका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु तथा जिल्लाका विभिन्न क्षेत्रका अगुवा, नागरिक समाजका प्रतिनिधिहरु, शैक्षिक क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उहाँले काभ्रेका विद्यार्थीलाई विश्वविद्यालयले सहुलियत दिन र यहाँकै विद्यार्थीलाई समेट्न नसकेकोमा प्रश्न गर्दै विश्वविद्यालयले कानुन र विभिन्न निर्णयलाई उल्लंघन गर्दा अहिले समस्या देखा परेको दाबी गर्नुभयो । केयु काभ्रेका नागरिक प्रति जवाफदेही हुनुपर्ने बताउँदै उहाँले केयुले राजनीति र षडयन्त्र दुवै गरेको आरोप लगाउनुभयो । अब विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सक्ने नेतृत्व आउनुपर्नेमा उहाँको जोड थियो ।
वागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले काठमाडौं विश्वविद्यालय अहिले विद्यार्थी खोज्नुपर्ने अवस्थामा पुग्नु दुःखद भएको बताउनुभयो । अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यता अन्त्यका लागि आवश्यक कदम चाल्न उहाँले विश्वविद्यालयलाई आग्रह गर्नुभयो । विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवादले दुवै संस्थाको गुणस्तर खस्किएको उहाँको भनाइ थियो ।
धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जुले स्थानीयले काठमाडौं विश्वविद्यालयलाई कठिन परिस्थितीमा दिएको साथ विश्वविद्यालयले भुल्दै गएको बताउनुभयो । काठमाडौं विश्वविद्यालयमा अहिले विकृति मौलाएको भन्दै उहाँले विश्वविद्यालयमा धेरै कमजोरी भएकाले सुधार्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले काठमाडौं विश्वविद्यालयको पारदर्शीतामै प्रश्न उठेको भन्दै वास्तविकता सबैले थाहा पाउनुपर्ने बताउनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी अन्तर्राष्ट्रियसँग तुलना गर्दा कहाँ छन् भन्दै तुलना गरेर आवश्यक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विश्वविद्यालयबाट प्राप्त गर्न सकिने अवसरबारे छलफल चलाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकालले राजनीतिक प्रभाव र भागबण्डा अन्त्य भएमात्रै विश्वविद्यालय राम्रो बन्न सक्ने सुझाव दिनुभयो । कार्यक्रममा रास्वपा सभापति प्रविण ढकाल, राप्रपाका जिल्ला अध्यक्ष सहदेव भण्डारी लगायत विभिन्न विद्यार्थी नेता लगायत शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरुले पारदर्शीता र गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पत्रकार महासंघको नयाँ नेतृत्व निर्वाचित भएपछि गरिएको यो पहिलो सार्वजनिक कार्यक्रम हो ।
