मुल्कोट, सिन्धुली । प्राकृतिक विपत्तीलाई न कसैले रोक्न सक्छ न त कुनै संकेत दिएर नै आउँछ । भनिन्छ नि, प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । यस्तै अवस्था भोगेका सिन्धुलीको मुल्कोटवासीहरु अब ती दिन विस्तारै विर्सने प्रयासमा छन् । तर आँखै अगाडी असोज १० देखि १३ सम्मको सुनकोशीको बितण्डा सजिलै विर्सन कहाँ सकिन्छ र ? तैपनि सम्हालिदैछन् उनीहरु, पुरानै लयमा फर्किँदैछन् मुल्कोटवासीहरु ।
हुन त त्यस बाढीले मुल्कोटमा मात्र समस्या बनाएको थिएन । काभ्रेको रोशी, पनौती, नमोबुद्ध, महाभारत, तेमाल, बेथानचोक, मण्डनदेउपुर, पाँचखाल, बनेपा, धुलिखेललगायतका पालिकाहरु पनि प्रभावित भएका थिए । काभ्रेमा मात्र ८० जनाको हाराहारीमा मानिसहरुको मृत्यु भएको थियो भने केही अझै बेपत्ता छन् । देशभर २५० जना मानिसहरुको मृत्यु भएको त्यो बाढीपहिरोले सिन्धुलीका पनि विशेषगरि सुनकोशी नदी किनारका बस्ती निकै बगायो । त्यसमध्येकै हो मुल्कोट पनि, जुन अहिले पुरानै लयमा फर्किँदैछ ।
सुनकोशी गाउँपालिका वडानम्बर–५ का वडाध्यक्ष सुरथ बसेल ती दिनहरु यसरी सम्झिनुहुन्छ, ‘ असोज ११ गते राति हामी सुतिरहेकै बेला सुनकोशी उर्लिएर आयो । हामीले नजिकका बस्तीहरुमा खबर गर्न नपाउँदै बत्ती र नेटहरु बन्द भए । त्यसपछि राति नै हामी सुनकोशी किनारतिर गयौं, स्कुल र बस्तीका धेरै घरभित्र पानी पसिसकेको थियो । हामी मानिसलाई जोगाउनतिर लाग्यौं । वत्ती र नेट नहुँदा कसैसँग पनि सम्पर्क हुन पाएन । अन्यौलकै बीच राति नै हामी उद्धारमा लाग्यौं । बिहानदेखि हाम्रो काम बस्तीभित्रका सामानहरु निकाल्न र वडा तथा गाउँपालिकामा भएका डोजर तथा अन्य उद्धारका सामाग्री लिएर सबै बस्तीतिर पुग्यौं ।’ अहिले बस्ती संरक्षणका लागि प्रदेश र केन्द्रसम्म तटबन्ध बनाउन आफूहरुले माग गरेको उहाँले जानकारी दिनुभयो । सो बाढीले नेपालथोक र मुल्कोटका करिब ९० घरहरु बगाएको थियो ।
बिपदमा निकै चुनौती झेलेर उद्धार गरिएको सम्झँदै उहाँले अझै पनि जोखिम कायमै रहेको र पालिकाको पहिलो प्राथमिकतामा नदीमा तटबन्ध निर्माणकै रहेको उहाँले जानकारी दिनुभयो । यति ठूलो पीडामा भएपनि मुल्कोटमा मानवीय क्षति भने हुन पाएन, यो नै ठूलो कुरा भएको बसेल बताउनुहुन्छ ।
पशुपति आधारभूत विद्यालयमा समस्यै समस्या
निर्माणधीन भवनको एउटा कोठाको एक छेउमा कक्षा ४ मा गणित विषयको पढाई भइरहेको छ । त्यसैको अघिल्लो छेउमा कक्षा ३ मा सामाजिक विषयको पढाई भइरहेको छ । एउटा कक्षामा पढाएको अर्को कक्षामा प्रष्टै सुनिन्छ । निर्माणाधिन भवनमा उक्त कोठाको छेउछाउमा कुनै घेराबार पनि छैन । दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
गत असोजको दोस्रो साता आएको सुनकोशी नदीको बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोटको पशुपति आधारभूत विद्यालयमा ठूलो क्षती भएपछि विद्यालयले कतिपय कक्षामा खुल्लारुपमै पढाई संचालन गरिरहेको छ । बाढीले विद्यालयका कक्षा कोठामा क्षति पुर्याएपछि विद्यालयले खुल्ला कक्षा संचालन गर्न बाध्य भएको प्रधानाध्यापक निर्मलाकुमारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाढीले पूर्णरुपमा क्ष्ेती गरेको विद्यालयमा पुनः कक्षा संचालन गरिसकिएको भएपनि समस्या भने धेरै छन् । भवन पुननिर्माण गर्न केहि समय लाग्ने भएपछि केही कक्षामा खुल्लारुपमै पढाइ गरिएको हो । यसमा स्थानीय अभिभावक, जनप्रतिनिधि लगायत स्थानीय बुद्धिजिवीको सहयोगमा बाढीले विद्यालयमा ल्याएको माटो सफा गरि कक्षा संचालन गर्न सम्भव भएको उहाँको भनाइ थियो । भवन अभावकै कारण यहाँका २२ जना बौद्धिक अपांगता भएका विद्यार्थीलाई पढाउन सकिएको छैन ।
जनश्रमदान, विद्यालय परिवार, स्थानीय जनप्रतिनिधिको सहयोगमा विद्यालय सर–सफाई गरेर कात्तिकको अन्तिम साताबाट कक्षा सञ्चालन गरिएको प्रअ श्रेष्ठले बताउनुभयो । सुनकोशी नदीको बाढीले विद्यालयका १२ वटा कोठा, डेक्स, बेन्च, शैक्षिक सामाग्री, कागजपत्रहरु बगाएको थियो । अस्थायीरुपमा विद्यालयले कक्षा संचालन गरेपनि विद्यार्थीलाई अध्ययनको लागि समस्या भएको विद्यार्थीहरु गुनासो गर्छन् ।
बाढीले विद्यालय ध्वस्त बनाएको सुनकोशी गाउँपालिका–५ का वडा अध्यक्ष सुरथ बसेलले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ५ का दुई वटा विद्यालय विपदले क्षती गरेको थियो । दुई वटा विद्यालयका झण्डै ५ सय विद्यार्थी प्रभावित भएको उहाँले बताउनुभयो । विद्यालयलाई पुनः संचालनमा ल्याउन स्थानीय तहले सहयोग गरिरहेको उहाँल जानकारी दिनुभयो । ‘धुलोका कारण अहिले विद्यार्थीलाई असर गरेको छ ।’ उहाँ भन्नुहुन्छ, “हामीले विद्यार्थीलाई सहजरुपमा अध्ययन गर्नका लागि विद्यालय पुनर्निर्माण तथा सरसफाई गरिरहेका छौँ । स्थानीयको सहयोगमा स्काभेटर प्रयोग गरेर विद्यालयको भवनमा भरिएको माटो निकाली कक्षा संचालन गर्न मिल्ने बनाएका छौँ । छिटै नै क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण हुनेछ ।”
पर्यटकीय क्षेत्रहरु चलायमान
मूलकोटका पर्यटकीय क्षेत्रहरु विस्तारै चलायमान हुँदै गएका छन् । यहाँ संचालित होटल, लज तथा रिसोर्टहरु खुल्दै सेवाग्राहीलाई सेवा दिन थालेका हुन् र यद्यपी यहाँको पर्यटन क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउन भने निकै समय र खर्च लाग्ने व्यवसायीहरु बताउँछन् । मुलकोटमा रहेको क्वालिटी रिसोर्टका संचालक बिनोद श्रेष्ठ आफ्नो रिसोर्टमा भएको क्षतिलाई कहिले पनि विर्सन नसकिने बताउनुहुन्छ । उनले करोडौं लगानी रहेको रिसोर्टमा पुनर्निर्माणका लागि निकै खर्च लाग्ने जानकारी दिनुभयो । सुनकोशी नदीमा आएको बाढीले आफ्नो रिसोर्टका धेरै भाग कटान गरेको र अहिले त्यसलाई रोक्न तटबन्ध निर्माणको प्रयास भइरहेको उहाँ बताउनुहुन्छ । तीन दिनको बाढीले यहाँको पर्यटन क्षेत्रलाई वर्षौं पछि धकेलेको उहाँको भनाइ थियो ।
स्थानीयहरु के भन्छन् ?
मुल्कोटका स्थानीय मानबहादुर माझी असोज १० गते साबिक जसरी नै बेलुका खाना खाएर सुत्नुभयो । राति नै सुनकोशी उर्लिएर आएपछि ज्यान जोगाउन घर छोडेर माथी जंगल जानुभयो । त्यहाँ पनि पहिरोको जोखिम भएपछि सुरक्षित ठाउँ खोज्दै धेरैतिर भागेको उहाँ सुनाउनुहुन्छ । बाढीले उहाँको तीन रोपनी खेत बगायो । भैंसी र घरमा भएको केही अन्नपात भने जोगाउन सकिएको माझीले बताउनुभयो । यस ठाउँमा करिब १०० परिवार अहिले पनि उच्च जोखिममा रहेको उहाँको भनाइ थियो । सुनकोशीमा स्थायी तटबन्ध निर्माण गर्न सके गाउँ जोगिन सक्ने अन्यथा जुनसुकै बेला जे पनि घटना दोहोरिन सक्ने उहाँले बताउनुभयो ।
