बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले शुक्रबार बनेपामा आयोजना गरेको ‘१६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद महोत्सव प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले राष्ट्रको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको नाम राख्नसक्ने विधामध्ये खेलकुद एउटा महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो । खेलकुदले राष्ट्रको चिनारी राख्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने भएकाले यसको विकासमा सबै एकजुट भएर लाग्न आवश्यक रहेकामा मुख्यमन्त्री लामाले जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सांसद रत्नप्रसाद ढकालले खेल क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार अघि बढिसकेको बताउनुभयो । हरेक जिल्लाका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँगको समन्वयमा खेल क्षेत्रको विकासमा उचित बजेट व्यवस्थापन गर्दै योजनाहरूलाई अगाडि बढाउन सक्नुपर्नेमा उहाँले धारणा राख्नुभयो ।
प्रदेशसभाका सांसद तीर्थबहादुर लामाले खेलकुद क्षेत्रमा बजेटको व्यवस्थापन गर्न बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । प्रदेशसभाका सांसद रूकु चौलागाईँले खेल क्षेत्रलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी कार्यान्वयन गरिने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले स्वास्थ्य र राष्ट्रका लागि खेलकुद हो भन्दै यसको प्रवद्र्धनका लागि राज्यले बजेट व्यवस्थापनमा कञ्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले हरेक वर्ष हुँदै आएको उक्त प्रतियिोगिताको यस वर्ष बजेट कटौती गर्न नहुने धारणा राख्नुभयो । उहाँका अनुसार ‘१६औँ राष्ट्रपति रनिङ शिल्ड खेलुकद महोत्सव’ मा जिल्लाका १३ वटा स्थानीय तहबाट विभिन्न विधामा करिब ७०० खेलाडी सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *