पनौती । पनौती नगरपालिका वडानम्बर ८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका शैक्षिक सामाग्रीहरुको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक रामचन्द्र थापाले जानकारी दिनुभयो । विद्यालयले गरिरहेको सिकाई अनुभव विद्यार्थीबीच साटासाट गर्ने र सल्लाह सुझाव लिने दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ थियो ।
विगत केही वर्षदेखि विद्यालयले हरेक वर्ष फागुन ९ गते शैक्षिक प्रदर्शनी गर्ने गरेको छ । विद्यार्थीले अध्ययनका क्रममा नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान गणित विषयमा सिकेका विषयवस्तुलाई प्रदर्शनीमार्फत कलाको रुपमा प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले आफूले देखेका, सुनेका र पढेका विषयलाई नमुना चित्र वा कलाको रुपमा प्रस्तुत गरेका थिए । यहाँ करिब एक सय वटा स्टलमा प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीको अवलोकनपछि पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले यस्ता कार्यक्रमले विद्यार्थीमा लुकेर बसेका प्रतिभा प्रस्फुटित हुने अवसर मिल्ने भएकाले यो कार्यक्रम एकदमै प्रभावकारी भएको बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने बताउँदै भालेश्वर नगरको मात्र नभएर जिल्लाकै नमुना विद्यालय रहेको बताउनुभयो ।
यो स्कुलले शिक्षणमा नविनतम विधीमार्फत अध्यापन गराइरहेको छ । संस्कारसहितको शिक्षामा समेत विद्यालयले जोड दिएको शिक्षकहरु बताउँछन् । यहाँ बाल विकास तहदेखि कक्षा १२ सम्म १ हजार ५९ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, नगरपालिकाका शिक्षा शाखाका प्रमुख एवं प्रतिनिधि, पनौती नगर क्षेत्रका सम्पूर्ण विद्यालय र छिमेकी पालिकाका विद्यालयका विद्यार्थी, शिक्षक, पत्रकार, अभिभावकलगायतले मेला अवलोकन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको पनि उपस्थिती रहेको थियो । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि जारी राख्ने विद्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *