काठमाडौंँ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ । गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् ।
अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उहाँले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिनुभयो । शाखा प्रमुख डा गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएको खोप अभियान सुरू नगरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालय सुरू हुनासाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
काभ्रेमा १५ हजार ३४४ किशोरीलाई खोप
अभियानमा काभ्रे जिल्लाका १३ पालिकाका १५ हजार ३४४ किशोरीलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये खानीखोला गाउँपालिका, नमोबद्ध नगरपालिका, भुम्लु गाउँपालिका र तेमाल गाउँपालिकामा ९९ प्रतिशतले खोप लगाएका छन् । यस्तै बनेपा, पाँचखाल, बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप लगाइएको छ । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरपालिका ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत खोप लगाइएको छ । सबैभन्दा कम चौरीदेउरालीमा ८१ प्रतिशत र धुलिखेलमा ८५ प्रतिशत किशोरीले खोप लगाएका छन् । गत माघ २२ देखि शुरु भएर फागुन ६ गते सकिएको यस अभियानमा १६ हजार ९७ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा १५ हजार ३ सय ४४ जनालाई खोप लगाइएको हो । लक्ष्यको ९५ प्रतिशत बालिका र किशोरीले खोप लगाएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *