बनेपा । काभ्रे जिल्लाकै सबैभन्दा पुरानो काभ्रे बहुमुखी क्याम्पस ४४ औं वर्षमा प्रवेश गरेको छ ।
यसै अवसरमा क्याम्पसले सोमबार आफ्नो ४४ औं वार्षिकोत्सव सम्पन्न गर्यो । क्याम्पस परिसरमा आयोजित कार्यक्रममा वागमती प्रदेशका सांसद कन्चनचन्द्र वादे प्रमुख अतिथि हुनुहुन्थ्यो । क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पसलाई स्थापनाकालदेखि नै सहयोग गर्नुहुने पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वादेले क्याम्पसले पछिल्ला वर्षमा समय सुहाउँदो विषयहरुलाई प्राथमिकताका साथ अध्यापन गराउँदै आइरहेको चर्चा गर्दै क्याम्पसलाई अहिलेको अवस्थामा पुर्याउन धेरैको सहयोग र योगदान रहेको बताउनुभयो । क्याम्पसलाई आगामी दिनमा थप प्रगतिको कामना गर्दै उहाँले ठूलो उद्देश्यका साथ बनेपामा निर्माण भएको आइटीपार्कलाई उद्देश्यअनुरुप संचालन गर्न नसकिएको स्विकार गर्दै यसले बनेपाको विकासमा ठूलो धक्का लागेको बताउनुभयो । करिब २५ करोडको लगानीमा निर्माण भएर पनि आइटीपार्कमा राजनीति हाबी हुँदा यो अहिले अलपत्रको अवस्थामा रहेको उहाँको गुनासो थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा. प्रकाशचन्द्र लोहनीले काभ्रे राजधानीबाट निकै नजिक भएकाले यहाँ धेरै अवसर रहेको चर्चा गर्नुभयो । उहाँले विद्यार्थीहरु १२ कक्षा पास गरेपछि विदेश जाने संस्कार नै बसिसकेकाले त्यसमा सुधार गर्न सरकारी नीति परिवर्तन हुनुपर्ने बताउनुभयो । लोहनीले नेपालको शिक्षालाई सुधार गर्न सरकारको ध्यान नगएको आरोप लगाउँदै विदेशिएका विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । नेताहरुले चाहने हो भने १० वर्षमा देशलाई कायापलट गराउन सक्ने बताउँदै उहाँले शिक्षामा राजनीति हाबी हुनु दुःखद रहेको बताउनुभयो ।
क्याम्पस प्रमुख केजी बैदारले क्याम्पसलाई समय अनुकूल बनाउन आफूहरु सधैं प्रयासरत रहेको उल्लेख गर्दै क्याम्पसको विरोध गर्नेहरु पनि रहेकाले धेरै चुनौतीहरु खेप्नुपरेको दुःखेसो पोख्नुभयो । आइटीका विषयहरु अध्यापन गराउँदा किन विरोध गर्नु भन्दै उहाँले विरोध गर्नेहरुलाई क्याम्पसले काम गरेर जवाफ दिने बताउनुभयो । क्याम्पसमा कुनै बेला १ हजार ४०० को हाराहारीमा विद्यार्थी रहेका भएपनि अहिले विद्यार्थीको संख्या घटेर ८०० को हाराहारीमा आउनुमा विद्यार्थी विदेशिने लहड हाबी भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा रामराजा धौभडेलले शुभकामना र स्वागत गर्दै क्याम्पसको प्रगतिको कामना गर्नुभयो । बनेपाका मेयर शान्तिरत्न शाक्यले क्याम्पसका लागि सहयोग गर्न आफू सधैं तयार रहेको उल्लेख गर्दै ४४ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *