धुलिखेल । जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकद्वारा बिहीबार स्थानीय तहहरुसँगको समन्वयात्मक गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेका कार्यक्रमहरुको कार्यप्रगति र आगामी योजना लगायतका विषयमा गोष्ठीको आयोजना गरेको हो । कार्यालयले ६ महिनाको अवधीमा गरेका आर्थिक, भौतिक तथा अन्य प्रशासनिक कार्यका बारेमा जानकारी गराएको थियो ।
पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा सृजा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को अर्ध बार्षिक समीक्षा तथा सप्ताहब्यापी पिपिआर रोगविरुद्धको खोप अभियानको प्रगतिका बारेमा जानकारी गराइयो । कार्यक्रममा कार्यालय प्रमुख डा वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चार चरणमा गरिएको कार्यक्रमको विशेष अतिथि स्टार भेटेरिनरी सेवा तथा परामर्श केन्द्रका डा धनराज रतला हुनुहुन्थ्यो । गोष्ठीमा बनेपा नगरपालिकाका तर्फबाट रामसुन्दर सापकोटाले नगरपालिकाले ६ महिनामा गरेका कामहरु र आगामी दिनमा गर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका तर्फबाट उपेन्द्र पण्डतले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
यस्तै विशेष अतिथि डा रतला, डा रेवतीमान श्रेष्ठ र डा बोधनाथ अधिकारीले पनि फरक फरक विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत भएका कार्यपत्रहरुमाथि सहभागीहरुले छलफल गरेका थिए । कार्यक्रममा जानकारी दिइएअनुसार गत माघ २४ देखि ३० गतेसम्म दुई जिल्लामा रहेका भेडाबाख्राहरुमा पिपिआर रोगविरुद्ध खोप अभियान चलाइएको थियो । जसमा काभ्रेमा १ लाख ९५ हजार खोप लगाइएको थियो । यो लक्ष्यको ६२ प्रतिशत रहेको थियो भने सिन्धुपाल्चोकमा १ लाख २५ हजार भेडाबाख्रालाई यो खोप लगाइएको थियो । जुन लक्ष्यको ५० प्रतिशत रहेको कार्यालय प्रमुख डा।वाग्लेले जानकारी दिनुभयो । एक हप्तामा सबै खोप लगाउन नसकिएको र अहिले पनि खोप लगाउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।
तथ्यांक अनुसार काभ्रेमा खोप लगाउनुपर्ने पशुको संख्या ३ लाख १५ हजार ५१ रहेकोमा खोपको उपलब्धता २ लाख ५९ हजार ९३७ र सिन्धुपाल्चोकमा २ लाख ३५ हजार ९८७ पशु रहेकोमा २ लाख ४५ हजार ३१४ खोप उपलब्ध गराइएको छ । कार्यक्रममा स्टार भेटेरिनरी सेवा तथा परामर्श केन्द्रका डा। धनराज रतलाले पशुहरुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि जोनिङ्ग तथा कम्पार्टमेन्टलाईजेशनका सम्भावना र अवसरहरुका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग खोपबाट मात्र नियन्त्रण सम्भव छैन । यसका लागि किसानले पनि सचेत हुनुपर्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले कार्यालयले सिमित कर्मचारीका बाबजुत उल्लेख्य काम गरेको पाइएकाले आगामी दिनमा झन राम्रो काम गर्नका लागि शुभकामना दिनुभयो । बेलाबेलामा पशुहरुमा आउने महामारी नियन्त्रणमा कार्यालयले बेलैमा सोच्न र यसका कार्यक्रमहरु संचालन गर्न सके महामारीजन्य रोगबाट पशुमा हुने क्षति कम गर्न सकिने उहाँको भनाइ थियो । यस्तै अन्य सहभागीहरुले पनि पशु सेवा कार्यालयका कामका बारेमा जिज्ञासा राख्दै सुझाव र सल्लाह दिएका थिए । सरकारले सन् २०३० भित्र नेपालबाट पिपिआर, खोरेत लगायतका विभिन्न रोगहरु उन्मुलन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोकका २५ पालिकाका प्रतिनिधिहरु, किसान, पत्रकार तथा सम्बन्धित विज्ञहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *