भक्तपुर । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग सुधार परियोजनाको ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकको निर्माण कार्यका लागि निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवा प्रालि काठमाडौं र सडक डिभिजन भक्तपुरबीच ०७९ साल जेठ २० मा ठेक्का सम्झौता भई ०८० चैत १९ सम्म सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।
सूचनामा उल्लेख भए अनुसार, हालसम्म खरिद सम्झौताको कार्यतालिका अनुसार भौतिक प्रगति अत्यन्त न्यून रहेको र निर्माण कार्य सुचारु गरी समयमा सम्पन्न गर्न पटकपटक पत्राचार गर्दासमेत चासो नदेखाएका कारण ठेक्का अन्त्य गरिएको हो । सडक डिभिजन भक्तपुरले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) तथा ठेक्का सम्झौता बमोजिम काम नभएकोले ठेक्का सम्झौताको अन्त्य गरिएको जनाएको छ ।
सूचनामा थप उल्लेख भए अनुसार, ठेक्का सम्झौता बमोजिम भुक्तानी हुन बाँकी स्वीकार्यरुपमा भएको अवशिष्ट कार्य भएमा सात दिनभित्र सडक डिभिजन कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्नसमेत अनुरोध गरिएको छ ।
