• ज्ञानमणि नेपाल कालोटोपी

मानिसले ख्याल गरेका छन् कि छैनन्, साँचो मानिस सधैं एक्लो हुन्छ । किनकी उसलाई केही नाटक गर्न आउँदैन, झुटो सम्बन्ध निभाउन सक्दैन र स्वार्थको भीडमा आफ्नो इमान बेच्न पनि सक्दैन । जो मूर्ख र फटाहा हुन्छ ऊ यी सबै कुरामा निपूर्ण हुन्छ, केही समयको लागि सबैको हाइहाइ त होला तर कालान्तरमा उसलाई आफूले निभाएका कुचरित्र नै गलपासो बन्छन्, यो उसले हेक्का गरेकै हुँदैन ।

त्यसैले भनिन्छ नि, जिन्दगी एउटा खेल हो । जहाँ हरकोहीले आफूलाई जित्न खोज्छन् तर यहाँ उनीहरुले ढंग पुर्याउँदैनन्, आफू जित्नका लागि अरुलाई हराउन लागिपर्छन् मान्छेहरु । यहाँ बुद्धी पुर्याउनु पर्ने कुरा यो छ कि आफूले जित्न र सफलता पाउन त आफैं सुध्रनु पर्छ । मानिसलाई मूर्खताले होइन, जरुरतभन्दा बढी चलाखीले नै डुबाउँछ । किनकी बढी चलाखीले सत्यलाई छायाँमा पार्छ र विनाश निम्त्याउँछ ।

मानिसलाई जीवनमा धेरैले साथ दिन्छन्, सहयोग गर्छन् पनि तर केही यस्ता विषय छन् जसलाई उसले चाहेर पनि भुल्न सक्दैन । पहिलो मनमा लागेको गहिरो घाउ, दोस्रो त्यही घाउ दिने मान्छेहरु । सबैभन्दा खराब मान्छे त्यो हो जो साथ दिने बाहानामा साथ छोड्छ, आशा देखाएर अन्धकारमा धकेल्छ र अरुको आँसुमा आफ्नो विजय देखाउँछ । त्यसैले भनिन्छ नि, आफूले गरेका गल्तीको कहिल्यै स्वीकार नगर्ने र सधैं अरुलाई मात्र दोषी देखाउन मात्रै प्रयास गर्ने व्यक्तिहरुसँग हामी परै बस्नुपर्छ । आज जुत्ता लगाउने हैशियत भयो भन्दैमा हिजो चप्पल लगाएका वा ती चप्पल पनि लगाउन नपाएका दिनहरु हामीले कहिल्यै भुल्नु हुँदैन । किनकी जुत्ता त फेरिएला तर पाइला चाल्ने जमिन उही हो, पाइला पनि तिनै हुन् ।

हामीले याद गरेकै कुरा हो कि पानीलाई जति तातो बनाए पनि अन्ततः शीतल नै हुन्छ । किनभने शितलता नै यसको मूल स्वभाव हो । हामी पनि पानी झैं बन्न सिक्नुपर्छ । किनकी सदावहार शीतल दिने भनेको पानी मात्र हो । क्रोध, डर र अशान्ति क्षणिक मात्र हुन्, हाम्रो वास्तविकता प्रेम, शान्ति र आनन्द हो भनेर हामीले कहिल्यै भुल्नु हुँदैन ।
जिन्दगी कुनै एउटा किताब जस्तै हो, जहाँ हरेक दिन नयाँ पाना पल्टाउनु पर्छ । पुरानो पानामा अड्किएर बस्दा सफलताको यात्रा कहिल्यै अघि बढ्न सक्दैन । हामीले अघि बढ्दा सधैं यहि मन्त्र मनन गर्न सक्नुपर्छ । तब मात्र सफलता पाइन्छ । त्यसैले भनिन्छ नि, सपना देख्नुस् र त्यसलाई पूरा गर्ने हिम्मत पनि राख्नुस् । किनकी सफलताको ढोका कहिल्यै बन्द हुँदैन तर प्रयास गर्ने हातले त्यो ढोका खोल्न पनि जानेको चाहिँ हुनुपर्छ ।

मान्छेले जीवनमा हरक्षण मिहेनत गर्नुपर्छ, बिना मिहेनत सफल हुन सकिँदैन । सफल भएपछि नै हो मानिसले चिन्ने । तर यो पनि सत्य हो कि मिहेनतले मात्र होइन धैर्यता र अडानसमेतले मानिसलाई महान बनाउँछ । महान बन्नेहरुले नयाँ काम केही गरेका हुँदैनन् । बरु नयाँ तरिकाले गरेका हुन्छन् । यो कुरा पनि हामीले भुल्नु हुँदैन ।

मान्छेहरु भन्छन्, समय परिवर्तनशील छ भनेर । तर सत्य के हो भने समयले कसैलाई परिवर्तन गर्दैन, परिवर्तन त सोचले गर्छ । जसले आफ्नो सोच बदल्न सक्छ, उसले नै आफ्नो भविष्य बदल्न सक्छ, जीवन बदल्न सक्छ । जो मानिस भुइँमा सुत्छ, ऊ कहिल्यै खाटबाट खस्दैन । जो धैर्य रहन्छ, उसले जीवनका हरेक आँधीहरु झेल्न सक्छ । जो साँचो मिहेनत गर्छ, उसलाई कहिल्यै भाग्यको भर पर्नु नै पर्दैन । जो मनदेखि नै धनी छ, उसले जीवनमा कहिल्यै गरिब महसुस नै गर्दैन । जसको मनभित्र अथाह स्वार्थ छ, डाहा छ र संकृर्णता छ, ऊ धनले जतिसुकै धनी होस् , मन र भावनाको सबैभन्दा गरिब हो । संसार बदल्न फराकिलो सोच चाहिन्छ, अरुको रिसरागले कालान्तरमा मानिस सकिने मात्र हो । यो कुरा मान्छेलाई बुझ्न धेरै समय लाग्छ । मान्छेको जीन्दगी केही होइन र सबैभन्दा धेरै र विशेष पनि हो । ढुंगालाई हीरा बनाउने वा हीरालाई ढुंगा, त्यो मानिसमै भर पर्छ । क्रमश…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *