जोगिटार । प्रसिद्ध उद्योगपति तथा व्यापारीक घराना गोल्यान ग्रुपका संस्थापक पवन गोल्यान “सुरक्षित खाद्यान्न उत्पादन तथा बजारिकरण“ को सन्दर्भमा सोमबार काभ्रेको मण्डनदेउपुर नगरपालिका–१०, जोगिटारमा पुग्नुभएको छ ।
उहाँको साथमा जनता एग्रो फरेष्टका प्रबन्धक, सञ्चालक तथा प्राविधिकसहितको टोली पनि मण्डनदेउपुर पुगेको थियो । चण्डेनीमण्डन सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपालले उहाँहरुको टिमलाई सहजीकरण गर्नुभएको थियो ।
पछिल्ला दिनहरुमा मण्डनदेउपुरमा प्राङ्गारिक खेतीमा लाग्ने किसानहरूको संख्या बढीरहेको छ । तर यसमा आउने धेरै समस्याहरुबारे किसान अनभिज्ञ भइरहेको अवस्थामा प्राविधिक सहयोगसहित उत्पादित उपजहरूको बजार ब्यवस्थापन पनि उचित तरिकाले भइरहेको छैन ।
यी समस्याहरु समाधान कसरी गर्ने भन्ने विषयमा पवन गोल्यानको टिमले किसानहरुसँग अन्तक्र्रिया पनि गरेको थियो । साथै उहाँहरु किसानहरुका खेतबारीमै पुगेर स्थलगत निरिक्षण पनि गर्नुभएको थियो । किसानहरूसँग अन्तक्र्रिया पश्चात् रासायानिक बिषादी तथा रासायानिक मल न्युनिकरण गर्दै सुरक्षित खाद्यान्न उत्पादन मात्र आफूले ब्यवस्थापन गर्ने र अन्य उत्पादनको हकमा भने आफ्नो टिमसँग सल्लाह गरेर मात्र निर्णय लिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका पूर्वअध्यक्ष तथा सहकारी महासंघका सञ्चालक परितोष पौडेल, गोल्यान ग्रुपका बरिष्ठ कृषिबिज्ञ हरि दुवे लगायतको उपस्थिती रहेको स्थानीयवासी प्रकाश नेपालले जानकारी दिनुभयो ।
