धुलिखेल । बुद्ध जयन्तीको अवसर पारेर बोधिसत्व बिहार काठमाडौं र कान्छीमाया फाउन्डेशनको सहयोगमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण गरिएको छ ।
वडा कार्यालयको सिफारिसमा ती सामग्रीहरू वितरण गरिएको हो । कार्यक्रम अन्तर्गत वडामा सूचीकृत २ सय ४२ ज्येष्ठ नागरिकलाई छाता, झुल, हरलिक्स र छडी प्रदान गरिएको छ ।
त्यस्तै, १ सय ७० एकल महिलालाई २५ किलो चामल, दाल, तेल, मसला, सोयाबिनलगायत खाद्यान्न सामग्री वितरण गरिएको छ । वडाभित्रका तीन विद्यालयका ४ सयभन्दा बढी विद्यार्थीलाई झोला र कापी उपलब्ध गराइएको कान्छीमाया फाउन्डेशनका अध्यक्ष दिलबहादुर थोकरले बताउनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमहरू हरेक वर्ष गर्ने गरिएको छ ।
बोधिसत्व बिहारका मुख्य गुरु बही वाङसीसहितको टोलीले सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा लुम्बिनी विश्वकै महत्वपूर्ण आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै उहाँले यहाँका बासिन्दा बुद्धका सन्तान भएको बताउनुभयो । वर्तमान समयमा बुद्धका शिक्षाहरू मानव समाजका लागि व्यवहारिक र आवश्यक रहेको उहाँको भनाइ थियो ।
कान्छीमाया फाउन्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बिहारबाट प्राप्त सहयोगलाई देशका विभिन्न स्थानमा वितरण गर्दै आएको जानकारी दिनुभयो । वडा अध्यक्ष दिरेपकुमार चौधरीले वडाका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला र विद्यार्थीलाई सहयोग उपलब्ध गराउनु सकारात्मक कार्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लाभग्राहीहरूका लागि एक सातासम्म निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरिएको छ । उक्त शिविरमा सिद्धार्थ नेत्रालयका प्राविधिकहरूको सहयोग रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *