हरिप्रसाद चौलागाईं
घना बाक्लो घारी लहलह थियो फूलआहा ।
उभेका खम्बा झैँ गगन तक छन् हुत्तिएका ।।
चरा बास्छन् नाच्छन् मधुर मुरली गुञ्जिएझै ।
घुमेका हावाले छमछम लता नाच्छ आफैं ।।१

फुलेका नौ रंगी कुसुम वनमा बासना छ ।
फलेका आस्वादा फल वनभरी छन् बिशेश ।।
जहाँ नाच्छन् हाँगा पवन सँगमा ती अशोक ।
कहाँ मान्थिन् राम्रो प्रियतम बिना जानकी र ।।२

बसेका छन् पाले दिनकर निशा एक झैँ छ ।
अनिद्रा भोकैले रघुवर जपी मर्नु झैँ छ ।।
ससस्त्रैको घेरा मकन द्विविधा त्रास दिन्छ ।
म बोलौँ खै साथी मनुज ममता त्यो कता छ ।।३

कुरा खेल्दैगर्दा मन सुमनमा शीत झर्छ ।
हरे कस्तो लेखा मकन अझ के कष्ट पर्छ ।।
थिइन् चिन्ता गर्दै रघुवर पुकारेर सीता ।
पुगे ढोका फोर्दै पवन सुत वाटिकामा ।।४

सुकेको झैँ देखे कमल बिचरा पोखरीमा ।
लुकेकोझैँ देखे विमल रवि वर्षे झरीमा ।।
थिए प्यादा पाले जनक दुहिता माझमा छन् ।
गयो लामो लर्को दस वदनको खुल्छ गुम्फन् ।।५

तिमी मेरी रानी बन महलका हुन् सुसारे ।
बसौली स्वेच्छाले अतुल नृपका साथ ब्यारे ।।
सुने त्यस्ता टर्रा कटु वचन ती क्रोध ज्वाला ।
बलेको ज्वाला झैँ पवन सुतको भो बबाल ।।६

नमान्दा सीताले दशवदनले खुडाको ।
निकाल्यो मार्छू लौ भनिकन झिक्यो मूर्ख डाँको ।।
म नारी सामुन्ने अझ तँ नझुका ती जुँगाको ।
सुन्यो सीताका यी कटु वचनले क्लान्त भै गो ।।७

लिला यस्तो हेर्दै कपि अझ लुके बाग भित्र ।
हिया सारै घोच्दो अति सकसको वृत्तचित्र ।।
उता हेर्दै बस्थे हनुमत लिला रावणैको ।
कडा पाले राखे भनिकन कराएर निस्क्यो ।।८

गयो पापी कालो असुर कपटी सुस्त ओर्ले ।
दिए औँठी झट्टै परिचय गरे मारुतीले ।।
रुखी मैली सीता जल नयनमा राम राम ।
पुकारा गर्छिन् ती अझ कति खपौं के बिराम ।।९

म लैजान्छू सारा खबर तर क्यै भोकमा छू ।
म के गर्नै सक्थेँ खल असुरका लोकमा छू ।।
यहाँ जे जे देख्यौं सकल छलका बात भन्नू ।
न आए मा छिट्टै रघुपति भजेरै म मर्छु ।।१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *