काभ्रेमा पछिल्ला केही वर्ष यता वनजंगल डढेलोका घटना बढ्न थालेका छन् । यसबारे जनचेतना जगाउन र वन डढेलो व्यवस्थापनसम्बन्धी दुई दिने तालिम जिल्ला सदरमुकाम धुलिखेलमा सम्पन्न भएको छ । फागुन २७ र २८ गते डिभिजन वन कार्यालय काभ्रेको आयोजनामा वन डढेलो नियन्त्रण द्रुत क्रियात्मक वललाई वन डढेलो व्यवस्थापन तालिम दिइएको हो । तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत वन कार्यालयका कर्मचारीको सहभागीता रहेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले नेपालमा विपद् व्यवस्थापनका लागि भइरहेका प्रयास र संगठनात्मक व्यवस्थाबारे जानकारी दिनुभयो । केन्द्रीयस्तरदेखि वडा तहसम्म विपद् व्यवस्थापन संयन्त्र रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले विपद् नियन्त्रणका लागि सामुहिक प्रयास जरुरी रहेकोमा जोड दिनुभयो । कमाण्ड, कोअर्डिनेशन र कम्युनिकेशन महत्वपूर्ण हुने उहाँको भनाइ थियो । कतिपयले दुःख दिने नियतले गलत सूचनासमेत दिने गरेको बताउँदै उहाँले विपद् व्यवस्थापनमा बर्दी लगाएका प्रहरी मात्र नभई विनाबर्दीका प्रहरीको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
काभ्रे जिल्लामा पछिल्ला केही वर्ष यता वन डढेलाबाट हुने क्षति बढ्दै गएको छ । चालु आर्थिक वर्षमा आगलागीका ८६ घटना भएका छन् । आगलागीका परेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । यस्तै १५ वटा चौपाया मरेका छन् । पक्कीसहित २८ घर र २२ गोठमा क्षति पुगेको छ । यस्तै गत आर्थिक वर्षमा २२२ वटा आगलागीका घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो । ८ जना घाइते भएका थिए । ८५ चौपाया मरेका थिए भने १७ जना घाइते भए । ९२ घर र ४५ गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गत वर्ष कूल ५२५ रोपनी क्षेत्रफलमा आगलागी भएको थियो ।
गत वर्ष वनमा डढेलो लगाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा ५ जनामाथि मुद्दा चलाइएको र एक जना थुनामा छन् । जिल्लामा हाल भइरहेका डढेलोका घटनामा ९० प्रतिशत मानवीय संलग्नता रहेको र त्यसमा पनि ६५ प्रतिशत जानीजानी आगो लगाइएको पाइएको छ । यस्ता घटनामा संलग्नको सूचना दिने व्यक्तिलाई पुरस्कार र दोषीलाई कारबाही पनि हुने गरेको छ । तर पनि डढेलोका घटनामा कमी आउन नसकेको तथ्यांक छ । सबै क्षेत्रका नागरिकबाट निगरानी राख्नुपर्ने र सचेतना कार्यक्रम पनि संचालनको जरुरत परेका कारण पछिल्लो पटक धेरै डढेलोका घटना हुने क्षेत्रका व्यवस्थापनमा सक्रिय जनशक्तिलाई डढेलो व्यवस्थापनसम्बन्धी तालिम दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । यस्ता तालिमबाट वन डढेलोलाई केही हदसम्म भए पनि कम गराउन सकिने कार्यालयले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *