धुलिखेल । चैत्र १४ गतेदेखि १८ गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा जिल्ला समन्वय समिति काभ्रेले अन्तर्राष्ट्रिय युवा महोत्सवको आयोजना गरेको छ । बिहीबार कार्यक्रमको उद्घाटन भएको छ । केही विवाद र समस्याका बीच युवा सम्मेलनको उद्घाटन भएको हो । उद्घाटनको एक दिन अघि कार्यक्रम आयोजक जिल्ला समन्वय समितिका अध्यक्ष दिपक गौतमलाई बैंकिङ कसुरमा भन्दै प्रहरीले पक्राउ गरेपछि कार्यक्रम हुने वा नहुने भन्नेमा अन्योल थियो । तर पछि कार्यक्रम नरोकिने सूचना जारी गर्दै उद्घाटन गरिएको थियो ।
सम्मेलनमा कन्सर्ट, समुहगत छलफल तथा स्टलहरु रहेका छन् । २ सयभन्दा धेरै बक्ता र १० हजार डेलिगेट्सले समुहगत छलफलमा भाग लिने बताइएको छ । सम्मेलनमा स्थानीय उत्पादन प्रदर्शनी, विषय विज्ञताका आधारमा समुहगत छलफल लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । हरेक दिन फरकफरक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि जिल्ला समन्वय समितिको आयोजनामा कृषि महोत्सव, खेल महोत्सव, गत माघ १७ देखि १९ गतेसम्म फुटसल प्रतियोगिता लगायतका जिल्लास्तरिय कार्यक्रम भएका थिए । जिसस प्रमुख दिपक गौतमले दिएको जानकारी अनुसार सम्मेलनमा ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका प्रतिनिधिहरु सहभागी भएका छन् । सामाजिक, शैक्षिक सुधार, स्वास्थ्य, खेलकुद, कृषि, हिंसाका घटनालाई न्यूनिकरण गर्ने अभियान लगायतबाट आमजनमानसमा केही ऊर्जा प्राप्त भयो भन्ने सोच्दै पछिल्ला दिनमा नयाँ कार्यक्रम गर्दै आएको जिससले यो पटक अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गरेको हो ।
विश्व युवा महोत्सव चैत १४ गते उदघाटन भएको हो । सम्मेलनमा सूचना, प्रविधि, खेलकूद, आइटी, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुनेछ । यसबाट निराश युवाहरुलाई आशाको संचार जगाउने काम गर्न सकिने विश्वास लिइएको छ । सम्मेलनमा विश्वका युवाहरुले नेपालका युवाहरुलाई आफूले जानेका ज्ञान शेयर गर्नेछन् । यहाँ डाक्टर, वकिल, साहित्यकार, संस्कृतिविद, पर्यटन व्यवसायी, खेलाडी, राजनीतिज्ञलगायत सहभागी छन् । यो एक वर्षदेखिको तयारी हो । यसले नेपाल र काभ्रे जिल्लाका विविध आयामको प्रचार हुने अपेक्षा गरिएको छ । विदेशी खेलाडीको सहभागीतामा फुटसल पनि हुनेछ । शैक्षिक प्रदर्शनी पनि गरिनेछ । यसमा जिल्लाका सबै विद्यालयहरुले भाग लिएका छन् ।
अन्तर्राष्ट्रियरुपमा यस महोत्सवमा भाग लिनका लागि अनलाइनबाट फाराम भर्ने व्यवस्था गरिएको थियो । यसमा पाँच दिनको लागि ७ हजार ५०० शुल्क लाग्छ । जसमा थप केही शुल्कसमेत गरि अधिकतम १० हजारसम्म लाग्नेछ र यो सहभागी आफैंले बेहोर्नेछन् । हाम्रो कलासंस्कृतिका साथै स्थानीय उत्पादनको पनि प्रदर्शन र प्रयोगमा जोड दिइनेछ । यसका साथै वातावरणसँग पनि जोडिदै कार्यक्रमहरु गरिने जिसस प्रमुख गौतमले जानकारी दिनुभयो । जसबाट विगतमा भएका विपद्का घटनाहरु नदोहोरिने गरि कसरी काम गर्न सकिन्छ भनेर छलफल र विचार विमर्श पनि गरिनेछ । यो प्रदेश सरकार, युवा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषदसँग समन्वय गर्दै स्थानीय तहहरुसँग पनि जोडिने कार्य गरिने उद्देश्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *