कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिका वडा नं ७ नौबिसेमा पुरातात्विक हिसाबले ब्रजयोगिनी मन्दिर बनाईने भएको छ ।
मन्दिर र देवालय बनाउन र धार्मिक पर्यटनलाई टेवा पुर्याउने हेतुले ब्रजयोगिनी मन्दिर बनाउन स्थानीयले महायज्ञ लगाउने भएका छन् । जेठ १८ गतेदेखि २४ गतेसम्म मण्डनदेउपुर नगरपालिकाको वडा नं ७ नौबिसेमा बज्रयोगिनी मन्दिर निर्माणको लागि पण्डित शिवप्रसाद सापकोटा र पण्डित विष्णुप्रसाद तिमल्सिनाको मुखारविन्दबाट प्रवचन हुने संगितमय महायज्ञमा सहभागी हुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।
साँखुमा रहेको ब्रजयोगिनी मन्दिरकै स्वरुपमा निर्माण गरिने मन्दिर निर्माणमा आर्थिक श्रोत जुटाउने उद्देश्यले महायज्ञ गर्न लागेको स्थानीय समाजसेवी तथा समितिका उपाध्यक्ष झलकप्रसाद पौडेलले जानकारी दिनुभयो ।
२०८२ जेठ १८ गते कलश यात्रासहित पूर्वाङ्ग र मण्डप पुजा गरिने उहाँले बताउनुभयो । प्रत्येक दिन बिहान ७ बजेदेखि पुजाअर्चनासहित पाठ पारायण, प्रत्येक दिन बिहान १० बजेदेखि ५ बजेसम्म कथा प्रवचन तथा भजन हुनेछ । प्रत्येक साँझ ७ बजेदेखि सन्ध्या आरती र भजनकृतन तथा जेठ २४ गते समापन गरिने भएको छ ।
महायज्ञमा मण्डनदेउपुरबाट धेरैभन्दा धेरै नागरिकले सहभागिता जनाएर आर्थिक, भौतिक र नैतिक सहयोग र सर्मथन हुनेछ भन्ने आशा आयोजक समितिले राखेको समितिका अध्यक्ष रामहरि सापकोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने तयारी समितिले गरेको छ । श्रीमद् भागवत ज्ञानमहायज्ञमा सहभागी हुन सम्पूर्ण मण्डनदेउपुरबासी र धार्मिक अनुरागीलाई आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *