प्रदीप के.सी. बञ्जारा/ज्ञानेन्द्र नेपाल
धुलिखेल । नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशको आयोजनामा काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सभाहलमा शनिबार छैटौं प्रदेशस्तरिय जुनियर तथा युवा रेडक्रस शिविर सम्पन्न भएको छ ।
वागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कार्यक्रमको उद्घाटन गरेका हुन् । काठमाडौं विश्वविद्यालयको समन्वय, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको आतिथ्यता तथा नेरेसो वागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो । ‘युवाको प्रतिबद्धता नवप्रर्वतनबाट मानवीय सेवामा विशिष्ठता’ नारासहित सम्पन्न कार्यक्रममा प्रदेशभरका विभिन्न जिल्लाका युवा रेडक्रसकर्मीलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले रेडक्रसका सात सिद्धान्तमा रहेर काम गर्न रेडक्रस अगाडि बढ्दै आएको चर्चा गर्दै विद्यालयस्तरबाट रेडक्रसको भावना अगाडि बढाउन जुनियर तथा युवा रेडक्रस शिविरले ठूलो महत्व राख्ने बताउनुभयो । रेडक्रसले विपद्मा नागरिकको उद्धार तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको कार्यको प्रशंसा गर्नुभयो । आफैंले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्री लामाले सबैतिर बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसकेको स्विकार गर्नुभयो ।


मुख्यमन्त्री लामाले भन्नुभयो, ‘यति धेरै योजना भयो की, योजना कता हो कता भयो । मलाई पहिला सम्झना छ, तित्राको बच्चा नभेटेको जस्तै भयो । हामीले सबैतिर आँखा लगायौं, तर तित्राको बच्चा कहिल्यै पनि भेटिएन । पछि थाहा भयो, एउटालाई मात्रै हेर्यो भने सम्भव हुनेरहेछ, धेरै तित्राको बच्चा हेर्यो भने एउटा पनि नभेटिनेरहेछ ।’
उहाँले योजनाको प्राथमिकीकरण गर्न नसकेको स्विकार गर्नुभयो । आफूले १३ हजार योजनाबाट केहि योजना घटाउन चाहेको भएपनि नसकेको बताउँदै पहिले नै फोहोर भइसकेका कारण सफा गर्न गह्रो भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थितहरुलाई रेडक्रस काभ्रेका सभापति देवेन्द्रप्रसाद भैलले स्वागत गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी वागमति प्रदेशका सभापति भोलानाथ रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वागमति प्रदेश योजना तथा नीति आयोगका सदस्य गुणराज मोक्तान, बुद्धशान्ति मावि, चितवनकी जुनियर रेडक्रस सभापति रश्मी विक, नेरेसो केन्द्रका प्रमुख प्रशासकीय अधिकृत धर्मदत्त बिडारी, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यलगायतले रेडक्रसका कार्यहरुको चर्चा गर्दै आपतमा रेडक्रस नागरिकको साथी बनिरहेको र आगामी दिनमा पनि यसरी नै काम गर्न आग्रह गर्नुभयो । कार्यक्रम शुरु हुनुअघि बिहान बनेपादेखि काठमाडौं विश्वविद्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।
शिविरमा बागमती प्रदेशका १३ जिल्लाका करिब १ सय जना युवाहरुको सहभागिता रहेको थियो । दोस्रो सत्रको कार्यक्रममा जलवायु परिवर्तन तथा अनुकूलन, साइबर सुरक्षा, मानसिक स्वास्थ्य, रक्तदान उत्प्रेरणा र जुनिय तथा युवा रेडक्रस सर्कल व्यवस्थापन सम्बन्धी कार्यपत्र सार्वजनिक गर्दै सहभागीहरुलाई समूहगत रुपमा कार्यक्रम प्रस्तुत गरी घोषणा पत्र जारी गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री राजु सिग्देलले जानकारी दिनुभयो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोलानाथ रुपाखेतीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश नीति तथा कार्यक्रम आयोगका सदस्य गुणराज मोक्तान, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय प्रमुख प्रशासकीय अधिकृत धनदत्त बिडारीले रेडक्रसका बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो ।

सोही क्रममा विभिन्न समयमा नेतृत्वमा रहेर काम गरिसकेका रेडक्रसकर्मी पूर्वसभापतित्रय श्यामसुन्दर श्रेष्ठ, सोमप्रसाद हुमागाईं र रघुवर चौप्रधान, पूर्वमन्त्री विश्वनाथ ताम्राकार, रेडक्रसको जिल्ला समितिमा रहेर कार्य गर्नुभएका भोगेन्द्रबहादुर कुँवर, गंगाप्रसाद अधिकारी र माधव नारायण जोशीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी शाखामा लामो समयदेखि कार्यालय प्रमुखको रुपमा काम गर्नुहुने सिद्धिबहादुर कर्माचार्यलाई पनि सम्मान गरिएको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले २ करोड रकम पु¥याउने योजना अनुरुप निःशुल्क रक्तकोष स्थापना गर्न सहयोग गर्ने नेपाल रेडक्रस सोसाइट जिल्ला शाखाका उपसभापति पुष्पा खड्का बस्नेतले रु. २५ हजार ५ सय, उपमन्त्री प्रदीप केसीले २५ हजार ५ सय ५५, कर्मचारी गोकुल बानियाँले २५ हजार ५ र पूर्व इन्जिनियर आलोक मल्लले २५ हजार १ सय ५५ नगदी सहयोग गर्नुभएकोले सम्मान गरिएको जिल्ला शाखाका सभापति देवेन्द्रप्रसाद भैलले जानकारी दिनुभयो ।
सो कार्यक्रमको लागि बनेपा नगरपालिकाले झोला उपलब्ध गराएको थियो भने सीडब्लुसी पोलिक्लिनिकका सञ्चालक शशी सुवालले स्टेशनरी उपलब्ध गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *