ज्ञानमणि नेपाल कालोटोपी
कुन्तावेँसी, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालमा वागमती प्रदेशमै पहिलो वातानुकुलित खोप केन्द्र संचालनमा आएको छ । नगरप्रमुख टोकबहादुर वाइवाले शुक्रबार सो खोप केन्द्रको उद्घाटन गर्नुभयो ।
मौसमको जस्तो प्रतिकुलता भएपनि संवेदनशील अवस्थामा रहेका आमा र शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर वागमती प्रदेशको पहिलो वातानुकुलित खोप केन्द्रको स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक घिमिरेले जानकारी दिनुभयो ।
खोप केन्द्र समयसापेक्ष बनाइनु खुशीको कुरा भएको बताउँदै कार्यक्रमका विशेष अतिथी जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले अझै पनि हरेक रोगहरुको जोखिम कायमै रहेकाले स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सतर्कता अपनाइ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा खोपको अवस्था र नेपालमा हाल भइरहेका खोप कार्यक्रमका बारेमा पनि उल्लेख गर्दै वागमती प्रदेशका ११९ वटा पालिका मध्ये मण्डनदेउपुर नगर अस्पतालमा वातानुकुलित खोप केन्द्र संचालनमा आउनु गौरवको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख विष्णुमणि नेपालले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै भोलिका सन्ततीहरुका लागि वातावरण अनुकूल खोप केन्द्र स्थापना गर्नु नगरकै ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले हाल नगर आधारभूत अस्पतालबाट यो सेवा शुरु भएको र विस्तारै नगरका सबै वडाका खोप केन्द्रहरुमा वातानुकुलित खोप केन्द्र संचालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
नगरप्रमुख टोकबहादुर वाइवाले नगरले स्वास्थ्य क्षेत्रमा शुरुदेखि नै विज्ञहरुको सल्लाहमा काम गरिरहेको बताउनुभयो । खोप समयमा नलगाउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा रहने उल्लेख गर्दै उहाँले नगरपालिकाले वातानुकुल कक्षसहितको खोप केन्द्र संचालनमा ल्याएर राम्रो काम गरेको बताउनुभयो । हाल नगरमा ५ शैयाको अस्पताल संचालनमा रहेको र निकट भविष्यमै थप १५ शैयाको अस्पताल संचालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । यसका लागि भवन निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको बताउँदै नगरप्रमुख वाइवाले यसमा सहयोग गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो ।
वातानुकुलित खोप केन्द्रका मुख्य विशेषताहरूः
खोपको गुणस्तर संरक्षण ः एसीले कोठाको तापक्रमलाई नियन्त्रणमा राख्छ, जसले खोपलाई बिग्रनबाट बचाउँछ र यसको प्रभावकारिता कायम राख्छ ।
स्वास्थ्यकर वातावरण ः यो केन्द्र सफा र व्यवस्थित हुन्छ, जसले खोप सेवाग्राहीलाई आरामदायी अनुभव प्रदान गर्छ ।
नियमित सेवा ः यस्ता केन्द्रहरूबाट तोकिएको मिति र समयमा खोप सेवा प्रदान गरिन्छ ।
नेपालको पहिलो वातानुकुलित खोप केन्द्र मायादेवीमा
नेपालमै पहिलो पटक रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा वातानुकुलित खोप केन्द्र संचालनमा ल्याइएको थियो । ०७७ साल माघ १० गते सो पालिकाको वडानम्बर ८ मा यस्तो सुविधासहितको खोप केन्द्र शुरु गरिएको हो । मायादेवीमा संचालित पहिलो वातानुकुलित खोप केन्द्रले हरेक महिनाको १० देखि १४ गतेसम्म सेवा दिने गर्छ । यहाँ गाउँघर क्लिनिक हरेक महिना १९ गतेदेखि २३ गतेसम्म संचालन हुनेछन् ।
यसपछि नेपालमा विशेषगरी ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा खोपको उचित भण्डारण र सुरक्षाका लागि यस्ता आधुनिक र वातानुकुलित खोप केन्द्रहरूको स्थापना गर्ने क्रम शुरु भएको छ । यसैक्रममा ०८३ वैशाख ११ गते काभ्रेको मण्डनदेउपुर–७ मा रहेको नगर आधारभूत अस्पतालमा यसको शुरुवात गरिएको हो । वागमती प्रदेशमा भने यो नै पहिलो वातानुकुलित खोप केन्द्र भएको जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।
