ज्ञानमणि नेपाल कालोटोपी
पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बिहीबार पालिका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक महेश खरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।
यो पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै चौथो नम्बरमा पर्न सफल भएको छ । यसवर्ष नमोबुद्ध नगरपालिका पहिलो भयो भने मण्डनदेउपुर नगरपालिका दोस्रो र भुम्लु गाउँपालिका तेस्रो भएका छन् ।
यस कार्यमा सक्रिय भएर खट्नुहुने सबैलाई धन्यवाद दिँदै प्रमुख अतिथी गौतमले पूर्णखोप सुनिश्चित गर्ने कार्य अन्त्य नभइ शुरुवात भएको बताउनुभयो । उहाँले जिन्दगीमा आफ्ना छोराछोरीहरुको स्वास्थ्यप्रति बुबाआमा निकै सजग हुने गरेको भए पनि खोपप्रति पनि धेरै नै संवेदनशील बन्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कलिला बालबालिका खोपबाट बञ्चित भएमा उनीहरुलाई दीर्घकालमा धेरै रोग लाग्ने जोखिम हुने भएकाले यसबाट बचाउन पनि खोप लगाउन जरुरी रहेकोमा जोड दिनुभयो । यसलाई निरन्तरता दिने गरि काम गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले पाँचखाल नगरपालिका जिल्लाका पालिका मध्ये चौथोे पूर्णखोप पालिका भएको बताउँदै सबै सूचकहरु पूरा गरेर केही हप्ताभित्रै जिल्लाका सबै १३ वटै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयो । उहाँले नेपालमा हाल भइरहेका खोप अभियानहरुका बारेमा जानकारी दिँदै राज्यले एकपटक एक जना बालबालिकालाई खोप लगाउँदा ७ हजार खर्च हुने र २३ महिनासम्म खोप लगाउँदा राज्यले प्रति बालबालिका ५० हजार बढी लगानी गरिरहेको जानकारी दिनुभयो । नेपालमा अहिले पनि हरेक दिन खोप अभावका कारण सरदर २३ जना बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यसमा कमी ल्याउन खोप लगाउनु अनिवार्य रहेको बताउनुभयो । उहाँले खोपको गुणस्तर बचाउनका लागि वातानुकुलित खोप केन्द्र बनाउनु पर्ने र यसमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिका प्रमुख महेश खरेलले पालिकाको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको र नागरिकको स्वास्थ्य अवस्थाप्रति आफूहरु सधैं सजग रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी वर्ष पहिलो पूर्णखोप सुनिश्चित पालिका बनाउने गरि आजैदेखि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, पालिका प्रमुख, पालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य स्वयंसेविकाहरुलगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिश्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गर्नुभयो ।
हाल पालिकामा १६ देखि २३ महिना मुनीका २८५ जना पूर्णखोप प्राप्त बालबालिका रहेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडानम्बर १ मा १४, वडानम्बर २ मा २७, वडानम्बर ३ मा ११, वडानम्बर ४ मा १३, वडानम्बर ५ मा २६, वडानम्बर ६ मा ४९ जना बालबालिकाले खोप लगाएका छन् ।
यस्तै वडानम्बर ७ मा पूर्णखोप लगाउनेको संख्या २६, वडानम्बर ८ मा १३, वडानम्बर ९ मा ३५, वडानम्बर १० मा ६, वडानम्बर ११ मा ५ जना, वडानम्बर १२ मा ४९ र वडानम्बर १३ मा ११ गरि जम्मा २८५ जना रहेको उहाँले जानकारी दिनुभयो ।
