भुम्लु । जनस्वास्थ्य कार्यालय काभ्रेले खानेपानी तथा पानीजन्य रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा भुम्लु र चौँरीदेउराली गाउँपालिकाको समन्वयमा महामारी कार्यक्रम अन्तर्गत खानेपानी तथा पानीजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
वैशाख ३१ गते भुम्लु गाउँपालिकाको कार्यालयमा तथा जेठ १ गते चौँरीदेउराली गाउँपालिका कार्यालयमा कार्यक्रम सम्पन्न भएको जनस्वास्थ्य कार्यालय, काभ्रेले जनाएको छ ।
कार्यक्रममार्फत सुरक्षित खानेपानी, पानीजन्य रोगको रोकथाम तथा नियन्त्रण, सरसफाइ र महामारी व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
७८ जनाको सहभागिता रहेको कार्यक्रममा खानेपानी उपभोक्ता समिति, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
