ह्यारिसबर्ग, पेन्सिलभेनिया । अमेरिकामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय त्रिवेणी साहित्य मञ्च अमेरिकाले आफ्नो तेस्रो कार्यसमिति चयन गरेको छ ।
सात समुद्रपारीको प्रवास, अनि व्यस्त दिनचर्या । यही दौडधूपबीच पनि आफ्नो मातृभाषा, संस्कृति र सिर्जनाप्रतिको अगाध प्रेम भने उस्तै छ । नेपाली भाषा, कला र साहित्यको सुवास फैलाउँदै आएको त्रिवेणी साहित्य मञ्च अमेरिकाले आफ्नो यात्रामा एक नयाँ इट्टा थपेको छ । आइतबार पेन्सिलभेनियाको ह्यारिसबर्गमा सम्पन्न विशेष कार्यक्रममा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो । नवगठित कार्यसमितिको अध्यक्षमा संस्थाका पूर्वमहासचिव नारद आचार्य ‘सुदामा’ चयन भएका छन् ।
सुन्दर शहर ह्यारिसबर्गमा आयोजित साहित्यिक जमघट र आत्मीय माहोलबीच संस्थाले नयाँ नेतृत्व पाएको हो । सन् २०१९ मा रोपिएको साहित्यको यो सानो बिरुवालाई सिञ्चित गर्दै अघि बढाउने नयाँ सारथीका रूपमा नारद आचार्य ‘सुदामा’ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसअघि महासचिवको जिम्मेवारीमा रहेर शब्द-यात्रालाई जोड्नुभएका सुदामाले अब मञ्चको समग्र नेतृत्व सम्हाल्ने हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिमा केशव बैरागी माइलो कार्यकारी निर्देशक, प्रेम घिमिरे वरिष्ठ उपाध्यक्ष, अभिनारायण काश्यव उपाध्यक्ष तथा परमा अधिकारी ‘कान्छो’ सचिव चयन भएका छन् । कोषाध्यक्ष पद हालका लागि रिक्त राखिएको छ भने पुनम दुलाल सह-कोषाध्यक्षको जिम्मेवारीमा चयन भएकी छन् ।
त्यसैगरी, सहसचिवमा देविका बराल र ज्ञानु शर्मा, प्रविधिक प्रमुखमा दिपेश चापागाईं, सांस्कृतिक संयोजकमा गोविन्द हुमागाईं, सह-सांस्कृतिक संयोजकमा अमृता शर्मा, साहित्यिक संयोजकमा बालकृष्ण न्यौपाने तथा सह-साहित्यिक संयोजकमा तीर्थ वास्तोला चयन भएका छन् ।
संस्थाले प्रमुख सल्लाहकारसहित विभिन्न सल्लाहकार र सदस्यहरूको समेत चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको छ । नवगठित नेतृत्वले प्रवासको भुइँमा रहेर पनि नेपाली माटोको सुगन्ध जोगाइराख्ने र स्रष्टाहरूलाई एउटै धागोमा बुन्ने यो मञ्चले आगामी दिनमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तासम्म यसको हस्तान्तरणमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
