पनौती । जिल्लाका तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि संघीय सरकारसँग सहयोग माग गरिने भएको छ ।
जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि संघीय सरकारसँग २८ करोड ६५ लाखभन्दा बढी सहयोग माग गर्ने निर्णय गरेको हो ।
धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जू, बनेपाका प्रमुख शान्तिरत्न शाक्य र पनौतीका प्रमुख रामशरण भण्डारीबीच भएको बैठकले सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्याङ्कनअनुसार संघीय सरकार अन्तर्गत खानेपानी मन्त्रालयमा बजेट व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।
केही दिनमा सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइने आयोजनाको बोर्डका संयोजकसमेत रहनुभएका धुलिखेलका नगरप्रमुख ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार आयोजनाको पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी सङ्कलन गर्न बनाइएको इन्टेक र वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्याएको थियो ।
निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले क्षतिग्रस्त भएपछि पुनःनिर्माणका लागि एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । तीन नगरका उपभोक्तालाई खानेपानी पुर्याउने उद्देश्यले निर्माण थालिएको उक्त आयोजनाको यसअघि करिब ९८ प्रतिशत काम सकिएको थियो । करिब एक अर्बको लगानी रहेको उक्त आयोजनामा बाढीले क्षति पुर्याएपछि निर्माण ढिलाइ भएको हो ।
संघीय सरकार र एसियाली विकास बैङ्कबीच सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा निर्माण सक्नेगरी ऋण सम्झौता गरिएको उक्त आयोजना समय सकिएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारले खानेपानी सुविधा पाउनेछन् ।
